काठमाडौं- राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उनले यस्तो बताएका हुन्। आफूले जग हालेको र आन्दोलन शुरु गरेको कम्युनिष्ट पार्टी नै आज धराशायी बनेकोले कम्युनिष्ट एकताका लागि आफूले पार्टी घोषणा गरेको उनको भनाइ थियो।
आफूले घोषणा गरेको पार्टी उद्घाटनका समयमा नेपाल नै चकित हुने दाबी उननको थियो। उनले आफू हालसम्म गएका पार्टीहरु सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौँ मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गरे। 'मैले आज पार्टीको जुन शिलान्यास गरेको छु, उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ। लाखौँ व्यक्तिहरु यो पार्टीको वरपर गोलबन्दी हुनेछन् । म जुन पार्टीमा जान्छु त्यो पार्टी त्यस्तै हुन्छ। विगतमा पनि त्यस्तै भएको थियो। म जहाँ जहाँ सामेल भएको छु, इमान्दारी र बलिदानी भावनासाथ निःस्वार्थ भावनाकासाथ काम गरेको छु' उनले भने।
गौतमले पार्टीमा नातेदारहरुलाई राखेको भन्नेमा कुनै सत्यता नरहेको दाबी गरे। कुनै पनि मानिस केमा लाग्ने भन्ने कुरा स्वतन्त्र रहेकोले पार्टीमा परिवारका सदस्य रहे पनि पार्टी नै कम्युनिष्ट आन्दोलन र एकतालाई सफल पार्नका लागि बनेको बताए।
'पदमा रहन र परिवारका सदस्य आफ्नै पार्टीमा राखेको भन्ने विषय सत्य होइनन्। केन्द्रीय कमिटीमा पनि हुनुहुन्छ, मेरा छोरा र श्रीमती। तर मेरो सिंगो पार्टी कम्युनिष्ट आन्दोलनमा छ। मेरा सबै सन्तान, आफन्त आन्दोलनमा लागेका छन्' उनले भने।
आफू कुनै पदमा रहनका लागि पार्टी नखोलेको बताउँदै उनले आफूले जग हालेको पार्टीबाट नै ठूला नेताहरु पैदा भएको दाबी गरे।
'मैले धेरै कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु, मैले जग हालेको ठाउँमा आज धेरै ठूला नेता पैदा हुनुभएको छ। मैले कुनै कम्पनी खोलेर आफ्नो लाभ पूरा गर्नको लागि लगाएको छै। आज म जुन आन्दोलनका लागि लडेँ, जीवन बिताएँ, त्यही आन्दोलन आज धराशायी हुँदैछ। जसले सूर्य देख्छ त्यसैले संसार पहिला उज्यालो देख्छ, मैले देखेँ। अब म चुप लागेर बस्नु हुन्न। कम्युनिष्ट आन्दोलन धराशायी भइरहेको छ । मैले निर्माण गरेको पार्टी, मैले नै शुरु गरेको आन्दोलन धराशायी हुनसक्ने स्थिति देखिन सक्ने भयो' उनले भने।
गएको निर्वाचनमा नेकपा एमालेबिरुद्ध ५ दलीय गठबन्धन लाग्यो र त्यसको परिणाम देखिएको उनले बताए। गौतमले गत स्थानीय तहको निर्वाचनमा कम्युनिष्ट कमजोर बनेको स्पष्ट देखिएको भन्दै अब पनि कम्युनिष्ठट एकतावद्ध नहुने हो भने आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने दाबी गरे। उनले आगामी ५ वर्ष नेपाली कांग्रेसले गठबन्धन गरेर अघि बढे पनि त्यसपछिका दिनमा कांग्रेसलाई कुनै गठबन्धनको आवश्यक्ता नपर्ने अवस्था बन्दै गएको बताए।
'अब केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ, यदी एकता वा कार्यगत एकता कम्युनिष्टहरुले गर्न सकेनन् भने वा त बहुमत नै प्राप्त गर्नेछ नेपाली कांग्रेसले गठबन्धनबाट, नभए पनि सबैभन्दा ठूलो पार्टीको रुपमा प्रतिनिधि सभा र प्रदेश सभामा स्थापित हुनेछ। ५ वर्षसम्म नेपाली कांग्रेसको मातहतमा सबै रहनेछ र दोस्रो निर्वाचनमा नेपाली कांग्रेसलाई गठबन्धनको आवश्यक्ता पर्नेछैन' गौतमले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।