काठमाडौं– तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा संलग्नताबारे अमेरिकी दूतावासलाई पठाएको पत्रमा रहेको मितिमा टिपेक्स लगाएर हातले लेखिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्।
मंगलबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले सक्कली पत्र देखाउन चुनौती दिए।
‘म सरकारलाई अहिले पनि ओरजिनल पत्र देखाऊ भन्छु। म प्रधानमन्त्री हुनुभन्दा अगाडिको पत्र हुनसक्छ। चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ, पहिलेको हटाएर। र पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ, हातले। सबै टाइप छ, पछि हातले किन लेख्नुपर्यो भने टिपेक्स लगाएर मेटेर हातले लेखेको स्पष्ट हुन्छ’, ओलीले भने।
उनले त्यतिबेलाका प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्री जिवितै रहेको भन्दै उनीसँग सोधे हुने पनि बताए।
‘उहाँले त्यतिबेलाका प्रधानमन्त्री रक्षामन्त्रीलाई नेपाली सेनाले बतायो कि बताएन? त्यो बताएको भए सेनाले पत्राचार गर्ने कुरा त्यसबेलाको सरकारले रोक्थ्यो। सेनाले एम्बेसीलाई लेख्ने कुरा रोक्थ्यो। यो विधिसम्मत नै भएन’, उनले भने।
उनले २७ अक्टोबर भनेर हातले जुन मिति लेखिएको छ, त्यसमा पटकपटक शंका व्यक्त गरे। ‘अहिले केपी ओलीलाई मुछ्नका लागि आज र अहिले लेखिएको हो त्यो, २९,’ ओलीले भने, ‘चलानी नम्बर पहिलेको फेरेर ८५ कसरी भयो त? हातले किन लेख्नुपर्यो। बै लाइनमा छ, बीचको ८५ चाहिँ फेरिएको छ। चलानी नम्बर सबै टाइप गरिएको छ, बीचको ८५ चाहिँ कसरी हातले लेख्नुपर्यो?’
उनले सरकारले छलकाम गरेको आरोप लगाए। उनले आफू प्रधानमन्त्री हुँदा पत्रचार भएकै भए पनि आफ्नो जानकारीबिना नै भएको बताए।
तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले २७ अक्टोबर २०१५ मा अमेरिकन दूतावासलाई पत्र लेखेका थिए। पत्र लेखिएको मितिमा ओली स्वयं प्रधानमन्त्री भइसकेका थिए। त्यसैले एसपीपी प्रकरणमा उनलाईसमेत जोडेर आलोचना हुने गरेको छ।
गत असार ३ गते बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि प्रधान सेनापति प्रभुराम शर्मा समक्ष ओलीकै जस्तो आशंका व्यक्त गरेका थिए।
तर, शर्माले पत्र तयार हुनासाथ हस्ताक्षर नहुने र जहिले हस्ताक्षर गरिन्छ, हस्ताक्षर गर्ने व्यक्ति स्वयंले मिति लेख्ने प्रचलन रहेको बताएका थिए। उनले आफ्नो अफिसमा अघिल्लो दिनदेखिको चिठी भएको तर तिनीहरुमा मिति खाली हुने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।