काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन्।
मंगलावार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताए। सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि २र३ महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको चौधरीको भनाइ छ।
‘निर्वाचनका सन्दर्भमा मैले ठ्याक्कै भन्न सक्दिनँ, तर मंसिरको २१ गते हुनेगरी सरकारले अबको २/३ महिनापछि आगामी संघ र प्रदेशको निर्वाचन घोषणा गर्छ होला,’ चौधरीले भने।
मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता समेत जनाए। मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको उनको भनाइ छ।
‘मन्त्री रहँदासम्म इमान्दाररुपमा काम गर्छु। अब पनि इमान्दार भइएन, मन्त्री नै इमान्दार भएन भने के हुन्छ? त्यसैले सबै जना इमान्दार भएर काम गर्नुपर्छ,’ चौधरीले भने, ‘यो देश जोगाउनको लागि सबैले आफ्नो योगदान गरौं। हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री, मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी पनि इमान्दार हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।