काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कम्युनिस्ट पार्टीबीच एकता भएन भने आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन्।
मंगलबार पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेसले अहिले गठबन्धन गरेर बहुमत ल्याएमा त्यसपछि उसलाई गठबन्धन आवश्यक नपर्ने बताए।
‘नेपाली कांग्रेसको पुच्छर समाउने, ढाड समाउने काम नेपालका कम्युनिस्टले गरे भने मुलुकको विकास हुन सक्दैन,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनको परिणाम हेरे नेपाली कांग्रेस आफैं पहिलो शक्ति बन्न सक्ने स्थितिमा थिएन। पार्टी नफुटेको नेकपा नै पहिलो शक्ति बन्ने थियो।’
नेकपा भित्रको आन्तरिक संघर्षमा आफू नलागेको भए नेकपा विभाजन हुनबाट जोगिने उनले बताए। ‘कहिले केपी तिर कहिले प्रचण्डतिर लाग्यो भन्नेमा म स्वीकार गर्छु,’ उनले भने,‘उनीहरुका सही कुराको समर्थन र गलत कुराको आलोचना गरेको हुँ।’
उनले कम्युनिस्ट पार्टी बाहेक नेपालको अन्य कुनै पार्टीले पनि देशको विकास गर्न नसक्ने भन्दै आगामी निर्वाचन अगावै एकताका लागि आफ्नो पार्टीले प्रयत्न गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।