काठमाडौं– वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आसन्न निर्वाचनअघि नै बृहत वामपन्थी चुनावी मोर्चा बनाएर जाने कार्यभार सार्वजनिक गरेको छ।
भृकुटीमण्डपमा आयोजित पार्टी घोषणा कार्यक्रममा यस्तो जानकारी दिइएको हो।
‘पार्टीको तत्कालीन र दिर्घकालीन उद्देश्य रहेका छन्। विघटन भएको नेकपालाई फेरि पुनर्गठन गर्नु हो,’ घोषणा कार्यक्रममा पार्टीका प्रचार–विभाग प्रमुख निमकान्त पाण्डेले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सकेसम्म कार्यगत एकतामा ल्याउने हो।’
उनले तीन पार्टीका साथै राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसहितको बृहत वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने काम आफ्नो पार्टीको रहेको बताए।
‘तीन पार्टीबीच एकता हुँदा हामीले भर्खरै निर्माण गरेको नेकपा एकता राष्ट्रिय अभियान पनि सँगै एकीकृत हुनेछ,’ उनले भने, ‘एकता सम्भव भएन भने पार्टी एकीकरण गर्ने विषयलाई मुख्य कार्यभारका रुपमा लिएर अघि बढ्ने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।