काठमाडौं– नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखा परेको बताएका छन्। पुनले संसारभर पुँजीवादी विश्व व्यवस्थाको विकल्प खोज्न थालिएको बताए।
अहिले विश्व नै आर्थिक संकटको सम्भावित जोखिममा परेको तथा असमानता र विभेदको खाडल गहिरिँदै गएको भन्दै पुनले त्यसका लागि पुँजीवादी व्यवस्था जिम्मेवार रहेको तर्क गरे। पुँजीवादको विकल्प समाजवाद भएको भन्दै उनले फेरि एकपटक संसारभर समाजवादी व्यवस्था स्थापना हुने बताए।
‘विश्वव्यापी रुपमा विभेद र असमानता बढेको छ। यो पुँजीवादी विश्वव्यवस्थामा आएको संकट हो’, काठमाडौंमा आयोजित नेपालमा समाजवादको सम्भावना र चुनौती विषयक कार्यशालामा पुनले भने, ‘मार्कसले भन्नुभएको थियो, पुँजीवादी व्यवस्थाको असफलताको गर्भबाटै समाजवादको जन्म हुन्छ। त्यो समय अब आएको छ।’
पुनले संविधानमै नेपाललाई समाजवादउन्मुख उल्लेख गरिएको भन्दै राज्यले समाजवादका आधार निर्माण गर्ने गरी काम गर्नुपर्ने बताए। समाजवादको जग बसाल्न स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्यान्न र आवासमा जनताको अधिकार ग्यारेन्टी हुनुपर्ने उनले बताए।
संघ, प्रदेश र स्थानीय सरकारहरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा विगतको तुलनामा लगानी बढाए पनि त्यो पर्याप्त नभएको पुनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।