काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वाम-लोकतान्त्रिक गठबन्धन कहिलेसम्म जान्छ भन्ने प्रश्न जटिल रहेको बताएका छन्।
आइतबार आयोजित नेपालमा समाजवाद चुनौती र सम्भावना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। खनालले गठबन्धन सरकार प्रष्ट रुपमा समाजवादको यात्रामा अगाडि बढ्नुपर्ने बताए।
‘समाजवादको यात्रा भनेको युगले मागेको हो। जनता र राष्ट्रको हितको कुरा हो समाजवाद भनेको,’ उनले भने,‘अहिले राष्ट्रियता झन् झन् खतरामा पर्न थालेको छ। गठबन्धनको सरकार बनेपछि राष्ट्रियता बलियो होला भनेको त अलि सुदृढ होला की भन्ने लागेको थियो।’
उनले उत्तरतिरको छिमेकी संसारको पहिलो शक्ति हुने र दक्षिणतिरको छिमेकी दोस्रो शक्ति हुने भन्दै दुबैको बीचमा रहेको नेपालले सन्तुलन मिलाएर अघि बढ्न सक्नुपर्ने बताए।
‘दुवै छिमेकीको बीच सन्तुलन मिलाउन सकेनौं भने हामी हाम्रो देशको हित गर्न सक्दैनौं। सन्तुलन कायम गर्न सक्नुपर्छ,’ उनले भने,‘संयुक्त सरकार भएपछि त छलफल गर्नुपर्छ नि एकलौटी रुपमा गर्ने हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।