काठमाडौं– सेयर बजारमा छाएको हरियाली १ दिन पनि नटिक्दै नेप्से परिसूचक पुन: ओरालो लागेको छ। साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बढेको नेप्से परिसूचक सोमबार २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा पुग्यो।
ठूला कम्पनीहरुको कारोबार मापक सेन्सिटिभ इन्डेक्स पनि ७.०२ अंक घटेको छ। फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सिटिभ फ्लोट इन्डेक्स २.६४ अंकले घटेको छ।
सोमबार कारोबारमा आएका २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता सेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। आइतबार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।
सोमबार कारोबारमा आएका१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५१ प्रतिशत घटेको छ।
नेप्से परिसूचक गिरावट आए पनि सोमबार दुई कम्पनीको सेयर सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ। सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर सोमबार नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। हिमालयन डिस्टिलरीको ९ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।