काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको संविधानमै समाजवादको जग भएको बताएका छन्। संविधानलाई कार्यान्वयन गर्न सके समाजवादको जग त्यहीँबाट बस्ने उनको भनाइ छ।
आइतबार आयोजित 'नेपालमा समाजवाद : चुनौती र सम्भावना' कार्यक्रममा उनले भने, 'उहाँ (केपी ओली) ले समाजवादको जग भत्काउन खोज्नुभएको थियो। त्यो बचाउनका लागि गठबन्धन भएको हो।'
उनले अहिलेको लडाइँ संविधान कार्यान्वयन गर्ने सवाल र यो संविधानलाई फाल्ने सवालबीच भएको बताए। 'यो मूलुकमा स्थायित्व कायम राखेर विकास गर्ने कि मुलुकलाई अस्थिरतातिर लगेर देशलाई लगेर विकासलाई अलपत्र पार्ने। लडाइँ यसैमा छ आज', उनले भने।
उनले अहिलेको लडाइँ कांग्रेस र कम्युनिस्टको बीचमा नभएको बरु देशमा स्थायित्व कायम गर्ने र अस्थिरतातिर लैजानेको बीचको लडाइँ भएको दाबी गरे। 'मूल कुरा बुझौँ। यो गठबन्धन त्यही मान्यताको आधारमा बनेको छ', उनले भने।
उनले संविधानले समानताको, न्यायको, स्वतन्त्रताको, समावेशीताको प्रत्याभूति दिएको भन्दै यसलाई बचाउनका निम्ति गठबन्धन आएको बताए। 'कहाँ विरोधाभाष छ? कहाँ पुँजीवादी वा साम्यवादीको कुरा छ? अहिलेको परिवर्तनलाई कसरी जोगाएर लैजाने भन्ने कुरा छ। परिवर्तनलाई बचाउन यो गठबन्धन भएको छ भन्ने कुरा ओलीजीहरुले बुझ्न सक्नुहुन्न', पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।