काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलले आफूले स्वतन्त्र उम्मेदवारहरुलाई चुनौतीको रुपमा नलिएको बताएका छन्।
प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा नहुँदै कतिपय व्यक्तिहरुले पोखरेल समेतको निर्वाचन क्षेत्र काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको समाचार सार्वजनिक भएका छन्। तर, पोखरेलले भने उनीहरुको अधिकारलाई सम्मान गर्ने बताए।
'यो दलीय प्रतिस्पर्धाको राजनीतिमा मापदण्ड पुगेका हरकोहीले म श्रेष्ठ छु भनेर दाबी गर्न सक्छन्। त्यो अधिकारलाई सम्मान गर्नुपर्छ', सोमबार बिहान नेपाल लाइभसँगको कुराकानीमा उनले भने, 'मेरो निर्वाचन क्षेत्रबाट जो जो साथीहरु उम्मेदवार बन्न चाहनुभएको छ, म सम्मान गर्छु।'
पोखरेलले योग्यता र क्षमता देखाएर श्रेष्ठता हासिल गर्ने प्रणालीलाई स्वीकार गरेपछि स्वतन्त्र उम्मेदवारीको विषयमा अन्यथा टिप्पणी गर्न नहुने बताए।
पोखरेलले आफ्ना विचार, काम, गतिविधि र समग्र भूमिका जनताले देखेको बताए। आफ्नो कमिकमजोरी पनि जनताले देखेको भन्दै ती विषयमा जनतामा उभिएर प्रस्तुत हुनसक्नुपर्छ भन्ने ठानेको बताए। 'मैले गरेका काम र विचारहरु लुकाइरहनु पर्दैन। जनताले सबल कुरा देख्नुभएको छ। कमजोरी पनि होलान्। म जनतासँग दुवै कुरामा साक्षात्कार गर्न तयार छु', उनले भने।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरेलले काठमाडौं- ५ मा कांग्रेस उम्मेदवार प्रकाशशरण महतलाई पराजित गरेका थिए। पोखरेलले २३ हजार २९ मत पाउँदा महतले १३ हजार १६९ मत मात्रै पाएका थिए।
सो निर्वाचनमा पोखरेल एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार थिए। सोही क्षेत्रबाट उम्मेदवारी दिएका विवेकशील साझा पार्टीका उम्मेदवार उज्वल थापाले ६ हजार ८५३ मत पाएका थिए।
पोखरेलसँगको अन्तर्वार्ताको पूर्ण अंश सोमबार साँझ नेपाल लाइभमा प्रकाशित हुनेछ। अन्तर्वार्ता नेपाल लाइभको फेसबुक पेजमा हेर्न र नेपाल लाइभमा पढ्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।