काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ध्यान केन्द्रित गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकको सोमबार उद्घाटन गर्दै अध्यक्ष नेपालले अधिकतम सफलता हासिल गर्नेगरी निर्वाचनको तयारीमा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिए।
‘आगामी प्रतिनिधि सभा र प्रदेश निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्छ। अधिकतम सफलता हासिल गर्ने, अरुमाथि भरोसा गरेर होइन आफ्नो शक्ति निर्माण गर्नेतर्फ लाग्नुपर्छ,’ उनले भने, ‘१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तयार गर्ने हिसाबले तयार गर्नुपर्छ। ३३० प्रदेश सभाका लागि पनि तयारी गर्नैपर्छ। जिम्मेवारी दिर्नैपर्छ। वडा तहदेखि टोल टोलमा कमिटी बनाउनेदेखि सबै काम गर्नुपर्छ।’
उनले पार्टीका लागि समानुपातिक मत पनि आवश्यक पर्ने भन्दै त्यसमा मत बढाउन सकिएमा सिट संख्या बढ्ने बताए। ‘स्थानीय तहको निर्वाचनमा हामीले २८ प्रतिशत उम्मेदवार मात्रै खडा गर्दा ९ लाख मत प्राप्त गरेका थियौं। सबैमा उम्मेदवार खडा गर्न सकेको भए करिब २० लाखको सेरोफेरोमा मत प्राप्त गर्न सक्ने थियौं,’ उनले भने, ‘अबको निर्वाचनमा यसतर्फ पनि ध्यान दिनैपर्छ। त्यसो गर्न सकिएमा सिट संख्या बढ्नेछ।’
आउँदो कात्तिक वा मसिंरमा चुनाव हुने भन्दै अध्यक्ष नेपालले अब समय धेरै नभएकाले सबैले निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए। जनताका समस्या, गाउँ र सहरका समस्याका बारेमा अध्ययन गरेर जनताको पक्षमा काम गर्ने गरी केन्द्रीय मन्त्री, मुख्यमन्त्री सहित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पनि लाग्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ।
‘नेपालको अर्थतन्त्र र राजनीतिमा दलाल शक्ति हावी हुने क्रम बढ्दो छ। भ्रष्टाचार व्यापक रुपमा मौलाएको छ। पार्टीहरुमा पनि देखिएको छ। त्यसको असर हाम्रो पंक्तिमा पनि पर्ने हो की भन्ने चिन्ता छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।