काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको बताएका छन्। पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकको सोमबार उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘शक्ति राष्ट्रहरुले अनेक ढंगले षडयन्त्रपूर्वक दाउपेच गरिरहेका छन्। हामी नेपालीहरु हाम्रो राष्ट्र कतै शक्ति राष्ट्रको द्वन्द्वको अखडामा नेपाल पर्ने त होइन भन्ने चिन्ता थपिएको छ,’ उनले भने, ‘यसबाट हामी सजग हुनुपर्दछ।’
असंलग्न परराष्ट्र नीति अवलम्बन हुनुपर्ने भन्दै उनले हरेक देशसँग नेपालले मित्रता भाव राखेर अघि बढ्नुपर्ने बताए। ‘हामीले एमसीसी र आईपीएस होस् अन्य विभिन्न विषयमा सजग बनेका थियौं। त्यसमा केपी ओली नेतृत्वको सरकार नै संलग्न भएको रहेछ,’ उनले भने, ‘कम्युनिस्ट पार्टीले देशको हित र रक्षा गर्नुपर्ने र कुनै पनि खालका गठबन्धनबाट सजग हुनुपर्ने हो।’ उनले सत्ता र कुर्सीका लागि अनेक काम भएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।