फाइल तस्बिर
काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले कोभिड १९ ले प्रभावित बनेको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइने बताएका छन्।
सपथ ग्रहणपछि मन्त्रालयमा आएर कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्। ‘कोभिड १९ ले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभावित गरेको छ,’ उनले भने, ‘उच्च प्राथमिकता दिएर पर्यटन क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ त्यसतर्फ हामीले काम गर्नेछौं।’
उनले यसका लागि विभिन्न समयमा अध्ययन गरेर प्रतिवेदन पनि तयार भइसकेको भन्दै त्यसलाई ७ दिनभित्रमा कार्यान्वयनमा लैजाने हिसाबले काम अघि बढाइने समेत बताए।
‘पर्यटन क्षेत्रको पुनःस्थापना गर्ने काममा पहल कदमी लिने छौं,’ उनले भने। उपत्यकाको सांस्कृतिक महत्त्वलाई पनि ध्यानमा राखेर पर्यटक आकर्षित गर्ने दिशातर्फ मन्त्रालयको ध्यान जाने नवनियुक्त मन्त्री श्रेष्ठको भनाइ छ।
‘हनुमान ढोका र स्वयम्भू क्षेत्र विश्व सम्पदा सूचीमा छन्। यसलाई जोड्ने मार्ग बनाएर अघि बढाउनुपर्छ,’ उनले भने, ‘यो कामका लागि बजेटमा पनि समावेस भइसकेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।