काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपालले एमाले विभाजन गर्दा साथ नदिएकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन्।
माधव नेपालसँगको सम्बन्धका विषयमा सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ११ बुँदा लेख्दै भट्टराईले एमाले विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने आफ्नो बुझाइ रहेकाले नेपाललाई साथ नदिएको बताए।
नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भनेको र आफूले नमानेको भट्टराईले बताएका छन्। उनले आफू अखिलको अध्यक्ष हुँदा नेपालकै कारण राजीनामा दिनुपरेको पनि स्मरण गरेका छन्।
आफूले माधव नेपाललाई चिनेदेखि आफूहरूको सम्बन्धमा उतारचढाव रहेका र यो जारी रहने उनले बताएका छन्।
भट्टराईले एमाले विभाजनपछि नेपालले आफूहरूमाथि पटक पटक भद्दा र अशिस्ट टिप्पणी गरेपनि उनको सम्मानका लागि केही नबोलेको बताएका छन्। तर, केही दिन पहिले नेपालले फेरि तल्लोस्तरमा झरेर बोलेपछि आफूले सोमबार जीवनपयोगी जवाफ फर्काएको भट्टराईले बताए। तर, यसबाट एकीकृत समाजवादीका युवाहरूको चित्त दुखेको भट्टराईको टिप्पणी छ।
भट्टराईले आइतबार एक कार्यक्रममा नेपालले अब राजनीतिबाट सन्यास लिनुपर्ने अभिव्यक्ति दिएका थिए। जसको एकीकृत समाजवादीका युवा–विद्यार्थीले आलोचना गरिरहेका छन्।
यस्तो छ योगेशको टिप्पणी :
कमरेड माधव नेपाल र म !
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र असिस्ट टिप्पणी गर्नु भयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौं। अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नु भयो। अनि मैले उहाँकै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काएँ। समाजवादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होइन। अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु - “कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”
कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ। त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु।
२.उहाँमा थुप्रै राम्रा गुणहरु छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु। उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतार चढाव रहेका छन् र यो जारी रहने छ।
३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो। हामी सुरुदेखि नै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौं।
४. छैठौं महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो। मेरो समर्थन उहाँलाई थिएन।
५. सातौँ महाधिवेशनबाट उहाँ पुन: पार्टीको महासचिव हुनुभयो। मेरो समर्थन उहाँलाई थियो।
६. आठौं महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो। हामी उहाँसँग लागेनौं।
७. नवौं महाधिवेशनमा उहाँ पुरनै धारमा फर्कनु भयो। अध्यक्षको उम्मेदवार हुनुभयो। हामीले साथ दियौं। जित्नु भएन।
८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिनँ र गरिनँ।
९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाइ रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिनँ। त्यसमा मलाई पछुतो छैन।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ। राष्ट्रिय सम्मेलनबाट चुनिएको। उहाँ पार्टीको महासचिव। उहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो। उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ। मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ। गुरुहरुप्रति मेरो सदा सम्मान छ। र, मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्द्छु। म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होइन।
पुनश्च: कमरेड माधव नेपालसँग सवाल–जवाफ गर्नु मेरो मनसाय होइन।
२०७९ जेष्ठ १३ गते बिहान काठमाडौं- धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।