काठमाडौं– रसुवागढी हाइड्रोपावरको सोमबार असार १३ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर बिक्री खुला गरेको हो।
सेयरमा अति प्रभावित क्षेत्र गोसाइँकुण्ड गाउँपालिका वडा न्मबर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका स्थानीयबासीले आवेदन दिन सक्नेछन्।
यसैगरी, गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
निष्काशन गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ : १.५:१ अनुपातमा बाँडफाँट गरिने जनाएको छ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। आईपीओमा न्यूनतम १० र अधिकतममा ७०० कित्ताका लागि आवेदन दिन पाइन्छ।
यसमा छिटोमा असार २७ गतेसम्म र ढिलोमा भदौ १० गतेसम्म आईपीओ खुला रहनेछ। यो आईपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस्तै, सहनिष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
*यसअघि अन्यथा भएकोले सच्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।