काठमाडौं–आइतबार राजीनामा दिएकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने रहर आफूलाई भएको र आफूले ल्याएका कार्यक्रमबारे जवाफ दिन केही दिन मन्त्रीमा रहेको बताएकी छन्।
उनले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरुसँग छलफल नगरेकोमा चित्त दुखाइन्। उनले मन्त्रीहरु परिर्वतन हुँदा सार्वजनिक सञ्चार माध्यमबाट नभई पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर एक्कासी सञ्चार माध्यमबाट जानकारी पाएको गुनासो गरिन्।
‘पार्टीले समीक्षा बैठक भनेर बोलाएको थियो। त्यसमा मन्त्री फेर्ने निर्णय पार्टीले गरेछ। मैले त पछिमात्र थाहा पाएँ,’ उनले भावुक हुँदै भनिन्, ‘मन्त्री फेर्नुअघि हामीसँग छलफल हुन्छ भन्ने थियो।’
झाँक्रीले आइतबारको दिन बिदा भए पनि आफू कार्यालयमा आएर काम गर्दै गर्दा पार्टीले आफूलाई फिर्ता बोलाएर नयाँ नाम पठाएको सार्वजनिक सञ्चार माध्यमबाट सुनेको बताइन्। बजेटसम्म डिफेन्स गर्न पाउनुपर्ने भनि कुरा राखेको पनि उनले बताइन्। उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बजेटसम्म के गर्ने भनि सोध्दा प्रधानमन्त्रीले मुख्यसचिवलाई बजेटसम्म मन्त्रीहरु नहट्ने भएकाले त्यही अनुसार व्यवस्था मिलाउन निर्देशन दिएको बताइन् ।
‘मलाई बजेटमाथि जवाफ दिने ठूलो रहर थियो,’ उनले भनिन्, ‘यो मन्त्रालयमा रहँदा केही काम हामीले गरेका थियौं त्यसलाई स्थापित गर्ने चाहना थियो।’
उनले राष्ट्रिय सभामा आइतबार जवाफ दिएर राजीनामा दिएको बताइन्। झाँक्रीले आफूहरु बाहिरिए पनि अब नयाँ मन्त्रीहरु पार्टीले पठाउने भन्दै मन्त्रिपरिषद छिट्टै पुनःगठन हुने बताइन्। पत्रकार सम्मेलनमा निकै भावुक हुदै उनले आँशु झारिरहेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।