काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन्। असार १० मा पार्टी अध्यक्ष माधवकुमार नेपाल समक्ष राजीनामा बुझाइसकेका भए पनि उनले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन्।
'म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु। विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ। समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु', पत्रकार सम्मेलनमा उनले भने।
उनले मन्त्रालयमा २६३ दिन बिताएको भन्दै ती दिनहरु बितेको पत्तो नै नपाएको बताए। आलेले २०७८ असोज २२ गते मन्त्री पदको सपथ लिएका थिए।
उनले आफू प्रक्रियाभन्दा एक्सनमा विश्वास गर्दै हुर्किएको राजनीतिक कार्यकर्ता भएको बताए। 'मलाई पत्रकार साथीहरुले आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्यो भने मेरो उत्तर हुनेछ- ९०', उनले भने।
उनले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताए। 'पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे', उनले भने।
उनले आफूले काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि आफूले त्यसअनुसार काम नगरेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत गठबन्धन सरकारको मार्गदर्शनको आधारमा क्रियाशील भएको बताए।
नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि २० दिनभन्दा बढी पार्टीको निर्णय नै अलपत्र परेको थियो।
तर, पछिल्ला दिनमा एकीकृत समाजवादीको नेतृत्व आफ्नो पार्टीको निर्णय कार्यान्वयन नभएपछि प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रामक हुँदै गएको थियो। उनीहरुले आफ्नो अपमान सह्य नहुने चेतावनी दिँदै आएका थिए।
यसैबीच असार ९ गते मन्त्री तथा सांसद्हरुले पार्टी नेतृत्वलाई ८ बुँदे सर्त समेत राखेका थिए। तर, शनिबार मात्रै ६ जनाले हस्ताक्षर फिर्ता लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।