काठमाडौं– गणपुरक संख्या (६९ जना सदस्य) नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। आइतबारको पहिलो बैठकमा ६३ जना मात्रै भएपछि बैठक आधा घण्टाको लागि स्थगित गरिएको हो।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री गोबिन्द बन्दीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।
त्यसपछि सो विधेयकमाथि सामान्य छलफल भएको थियो। जसमा सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए। छलफल सकिएपछि मन्त्री बन्दीले जवाफ दिएका थिए।
त्यसपछि सभामुख सापकोटाले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। सांसदहरुले हुन्छ वा हुन्न पनि भनिसकेका थिए। सभामुख अघि बढ्न खोज्दै थिए। एमाले सांसद् झपड रावलले रोके। उनले सदनमा गणपुरक संख्या नरहेको बताए।
त्यसपछि सभामुखले तीन मिनेट घण्टी बजाएर सांसद संख्या एकिन गर्न सचिवालयलाई निर्देशन दिए। संख्या नपुग भएको निश्चित भएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो। दोस्रो बैठक भने जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।