काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गरेका छन्।
आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन्।
मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थ मन्त्रालयलाई पठाए पनि त्यसमा बजेट नदिइएको उनको गुनासो छ।
मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा दिइने भनिए पनि बजेट प्रस्तुत हुँदा भने कक्षा ८ सम्म पुर्याउन भाषाको प्रयोग गरिएको बताए।
यस्तो गल्ती शिक्षा मन्त्रालयको तर्फबाट नभएको भन्दै यस्तो त्रुटि सच्याउन आवश्यक रहेको बताए। उनले भने, ‘दिवा खाजा हामीले कक्षा ८ सम्म नै भनेर पठाएका थियौं। ६ सम्म थपिएर आएको हुँदा खुशी व्यक्त गर्दछु। तर कक्षा ८ सम्म हामीले गरेको प्रस्ताव आएन। अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भनेको छ। नीति तथा कार्यक्रममा आयो, बजेटमा यो आएन। बजेटमा ८ सम्म पु¥याउने गरी हाललाई यो वर्ष छ भन्ने भाषामा आयो। यो मन्त्रालयको तर्फबाट भएको त्रुटी भन्दा पनि यसप्रकारका त्रुटीहरु सच्याउनुपर्छ।’
मन्त्री पौडेलले शिक्षा सम्बन्धी हरेक कुराहरु डिजिटल बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।