काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहले जिउ मर्काएर जितेको टिप्पणी गरेका छन्। शाहको र्याप र विषयवस्तुले मानिसलाई आकर्षित गरेको उनको भनाइ छ।
'यहाँ हेर्नुस् त एउटा, नाचेरै, जिउ मर्काएरै बालेनले जितिहाले', आइतबार पार्टीनिकट महिला संघको बैठकमा सम्बोधन गर्दै उनले भने, 'र्याप म्युजिक मात्रै होइन, उनले विषयवस्तु पनि अगाडि सारे। काठमाडौंको समस्या के छ, त्यो पनि अगाडि उठाए। र्यापले पनि तान्यो, विषयवस्तुले पनि तान्यो।'
अध्यक्ष नेपालले संगठन विस्तारका लागि काम गर्नुपर्ने र त्यसको प्रचार पनि गर्नुपर्ने बताए। 'कामचाहिँ गर्नुहुन्छ तर प्रचार नै छैन। कसैले थाहै पाउँदैन। कोही काम कम गर्छन्। प्रचार मात्रै ज्यादा गर्छन्। यो सन्तुलन नै मिल्दैन। काम पनि धेरै गर्नुपर्छ। प्रचार पनि धेरै गर्नुपर्छ। त्यसपछि जनताले थाहा पाउँछन्। यसरी प्रचार हुँदै जान्छ। संगठन स्थापित हुँदै जान्छ र बलियो हुन्छ। सबै मान्छे आकर्षिक हुन्छन्', उनले भने।
अध्यक्ष नेपालले आफूहरुले बालेन तथा हर्क साम्पाङबाट सिक्नुपर्ने बताए। आफू र विरोधीहरुबाट पनि सिक्नुपर्ने उनको भनाइ छ।
उनले भने, 'स्वतन्त्र उम्मेदवारहरुबाट पनि सिक्नुपर्यो। अहिले स्वतन्त्रकै जमाना छ भनेर फेरि एउटा लहर चल्दै छ। तर, स्वतन्त्रले हुँदोरहनेछ। विस्तारै अनुभूति हुँदै जान्छ। कामले हुन्छ। इमानदारिताले हुन्छ। लगनशीलताले हुन्छ। इमानदारिता चाहिन्छ। दृष्टिकोण चाहिन्छ। लगनशीलता चाहिन्छ। अनि बल्ल परिणाम प्राप्त हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।