काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगनाथ खतिवडाले एमालेसँग संवादको कुनै अजेण्डा नभएको बताएका छन्।
केन्द्रीय कमिटिको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले एमालेसँग संवादका लागि सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादी अवैधानिक भएको दाबी गरेको मुद्दा फिर्ता लिनुपर्ने र आफूहरुलाई दलको मान्यता दिनुपर्ने बताए।
‘एमालेले आजसम्म राजनीतिक दलको दर्जा नै दिएको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा कुनै संवाद हुँदैन। एमालेलाई संवाद चाहिएको हो, एकीकृत समाजवादीसँगै हुनुपर्छ भन्ने लागेको छ भने अदालतमा रहेको मुद्दा फिर्ता लियोस् अनि पार्टीलाई मान्यता दिएको अभिव्यक्ति आयोस्।’
त्यस्तै एमालेले संसद विघटनलाई गल्तीका रुपमा स्वीकार गर्नुपर्ने एकीकृत समाजवादीको शर्त रहेको उनले बताए।
केन्द्रीय कमिटी बैठकमा पाँच कुरा महत्वपूर्ण रुपमा उठाइएको उनले बताए। स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत र कमजोरी औंल्याउँदै अघि बढ्ने उनको भनाइ छ।
आम निर्वाचनको तयारी कसरी गर्ने भन्ने विषय पनि बैठकमा अध्यक्ष माधव नेपालले प्रतिवेदन पेस गरेको उनले जानकारी दिए। केन्द्रीय परिषदको बैठकमा उक्त कुरा पेस हुने उनले बताए।
पाँच दलिय गठबन्धनलाई उच्च प्राथमिकता दिएको तर कसैसँग शरणमा नपर्ने उनले बताए। उनले पाँच दल भन्दा बाहिरका दलहरुसँग पनि खुला छलफल गर्ने बताए।
आगामी निर्वाचनपछि भूमिका अझै बढ्ने भन्दै उनले अघिल्लो निर्वाचनमा २७ प्रतिशत स्थानमा मात्र उम्मेदवादी दिएको जानकारी दिए। उक्त अवधिमा ९ लाख मत पाएको भन्दै उनले पूरै स्थानमा उठाएको भए धेरै मत आउने विश्वास व्यक्त गरे। बैठकमा संगठन विस्तार गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको छ।
‘अरु दलहरुको आन्तरिम तनावलाई म्यानेज गर्दा खोज्दा हामीलाई अपमान गर्न खोजेको देखियो,’ उनले भने ‘अब ढिलाई नर्गनुस् भनेर भनेका छौं।’
यस्तै उनले मन्त्री बन्ने सूची संशोधन नहुने र समयक्रममा थपखट हुने बताए। तर अब नाम संशोधन नहुने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।