काठमाडौं- नेकपा एकीकृत समाजवादीले गठबन्धन बाहेकका दलसँग पनि सहकार्यलाई जोड दिने भएको छ। शनिबार बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले यस विषयमा धारणा राखेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
'पाँच दलीय गठबन्धनलाई हामीले उच्च प्राथमिकता दिएका छौँ। हामी सबैसँग सहकार्य गर्छौँ तर कसैको शरण पर्दैनौँ। सहकार्य गर्न हामी खुला छौँ। यो कुरालाई आज हामीले बढी जोड गरेका छौँ। सबै दलहरुसँग छलफल खुला गर्ने छौँ। पाँच दलीय गठबन्धन हाम्रो प्राथमिकता हो। तर पाँच दलभन्दा बाहिर अरु दलसँग पनि खुला छलफल गर्नेछौँ भन्ने विषयमा हामी प्रष्ट छौँ', उनले भने।
उनले देशभक्ति र वामपन्थीहरुको बीचमा व्यापक सहकार्यको सम्भावना रहेको पनि बताए। यसबारेमा पनि बहस छलफल गर्न, सबै राजनीतिक दलहरुसँग, व्यक्ति व्यक्तिसँग, समूह समूहसँग भेट्न तयार रहेको पनि बताए।
'हाम्रो पहलमा यो देशमा देशभक्त वामपन्थी लोकतान्त्रिक शक्तिहरुको एउटा नयाँ ध्रुव सिर्जना पनि हुनसक्छ। हामी सबैलाई समेटेर देशको हितको रक्षाका लागि, देशको लोकतन्त्र संविधान रक्षाका लागि हाम्रो पहलकदमीमा हामी अगाडि बढ्न सक्छौँ भन्ने पनि हामीले प्रकाश पारेका छौँ', खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।