काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीभित्र सरकारमा जाने विषयमा जारी विवादमा १० सांसदमध्ये ६ जना पछि हटेका छन्। शुक्रबार १० सांसदहरुले सरकारमा रहेका मन्त्रीलाई हटाउन नहुने भन्दै अध्यक्ष माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाएका थिए।
यसरी ज्ञापनपत्र बुझाउनेमध्ये ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। बाँकी चार जनाले भने कायमै राखेका छन्। शनिबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका हुन्।
हस्ताक्षर फिर्ता लिने सांसदले आफूहरु यसअघि भ्रममा परेको लिखित जानकारी गराएका छन्। अध्यक्ष नेपालले पार्टीको निर्णयले सरकारमा पठाएको र पार्टीको निर्णयले नै फिर्ता हुुनुपर्ने भन्दै उनीहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए।
हस्ताक्षर फिर्ता लिनेमा आलेसहित धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र बीनादेवी बुढाथोकी रहेका छन्।
तर स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरुले भने हस्ताक्षर फिर्ता लिएका छैनन्।
मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।