काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको आवश्यकता रहेको बताएका छन्। शनिबार केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नै बलको आधारमा अगाडि बढ्नुपर्ने पनि बताए।
‘हिजो भएको पोलिटब्युरोको बैठकमा बोल्ने लगभग सबैको एउटै राय थियो, गठबन्धनप्रति हाम्रो धेरै गुनासो भए पनि, कतिपय पार्टीले धोका दिएको भए पनि, कतिपयले हामीलाई अपमान गरेको भए पनि, हामीले हाम्रो शक्ति राम्रोसँग परिचालन गर्न नसकेको कारणले पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं’, उनले भने।
आफ्नो सम्बोधनमा नेपालले गठबन्धन दलको आलोचना गरे। स्थानीय तहको निर्वाचनमा पाँच दलबीच छलफल गर्दा सँगै मिलेर जाने कुरा भएको भए पनि काम भने नभएको उनको भनाइ छ। त्यसप्रति आफूहरुको गुनासो भएको उनले बताए।
अध्यक्ष नेपालले देशमा महानगर र उपमहानगरपालिकामा आफूहरुको पनि उपस्थिति रहेको कुरामा गर्व गर्नुपर्ने बताए। स्थानीय तहको निर्वाचनमा सो पार्टीले पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मेयर पद जितेको थियो।
‘सहमतिको कुरा हाम्रा निम्ति एकदम उपयुक्त पनि थियो। त्यसमा हामी केही मात्रा सफल भयौं। हामीले महानगरपालिकामा उठाएको उम्मेदवारलाई पोखरामा जिताइछाड्यौं। गठबन्धन दलको सहयोग हामीले प्राप्त गर्यौं। त्यसैगरी उपमहानगरपालिकाको सन्दर्भमा हेटौंडामा हामीले मेयर पदमा विजय हासिल गर्यौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।