काठमाडौं– संघीय सरकारका मन्त्री फेर्ने विषयले आन्तरिक विवाद चर्किएको अवस्थामा नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक असार ११ र १२ गते बस्न लागेको हो। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्थाका बारेमा छलफल हुने नेताहरुले जानकारी दिएका छन्।
पार्टीका उपमहासचिवक एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी स्थापना भएको करीब ८ महिनाको अवधिमा देशव्यापीरूपमा भएका सांगठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तर्क्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धि बारे समीक्षा हुनेछ। बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना/रणनीति तयार गरिने खतिवडाले जानकारी दिए।
यसअघि शुक्रबार बसेको पोलिटब्यूरो बैठकमा केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनबारे छलफल भएको थियो।
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले ३ साता अगाडि नै सरकारमा सहभागी ४ जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद्मा हेरफेर गर्न चाहेका छैनन्। साथै, एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीसहित १० जना सांसदले मन्त्रीहरु फिर्ता बोलाउने निर्णयको विरोध गरेका छन्।
सरकारमा रहेका मन्त्रीसहित एकीकृत समाजवादीका १० जना सांसदहरुले मन्त्री फेर्नेबारे छलफल तथा निर्णय गर्न संसदीय दलको बैठक बोलाउन आग्रह समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।