काठमाडौं– नेकपा माओवादी केन्द्र दाङका पूर्व इन्चार्ज एवं केन्द्रीय सदस्य जीवन गौतम नेकपा एमाले प्रवेश गरेका छन्। शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराएका हुन्।
स्थानीय तहको निर्वाचनअघि उनले पार्टी परित्याग गरेका थिए। तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकारका रुपमा लामो समय काम गरेका उनलाई मेयरको उम्मेदवार बनाउने सम्भावना नभएपछि पार्टी छाडेको घोषणा गरेका थिए।
उनी माओवादी केन्द्रको तर्फबाट घोराही उपमहानगरपालिका मेयरमा प्रमुख दावेदार थिए। गौतम त्योभन्दा अघिको निर्वाचनमा घोराही उपमहानगरपालिकाका एमालेका उम्मेदवार नरुलाल चौधरीसँग पराजित भएका थिए। यो निर्वाचनमा भने उनलाई नै सघाएका थिए।
पार्टीभित्र चरम गुटबन्दी र गैर कम्युनिस्ट चरित्र देखिएको भन्दै उनले राजीनामा दिएको बताएका थिए। उनले भनेका थिए, ‘पार्टीभित्र धेरै गुटबन्दी भयो। अत्यन्त षड्यन्त्रकारी कार्यशैली भए। चुनावको नजिक झन गुटबन्दी देखापर्यो। स्वाभीमान र आदर्श जोगाउन माओवादी केन्द्र छोड्ने निष्कर्षमा पुगेँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।