काठमाडौं– नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ कुनै पनि अवस्थामा सफल हुनुपर्ने बताए।
‘उहाँहरूलाई जनताले वैकल्पिक रुपमा आवश्यकता देखेर मत दिएका हुन्। त्यसैले उहाँहरुलाई असफल हुन छुट छैन’, उनले भने, ‘उहाँहरू सफल हुँदा काम गर्न पार्टीमै हुनुपर्छ भन्ने भाष्य परिर्वतन हुन्छ।’
उनीहरूलाई असफल हुने छुट नभएको भन्दै लामिछानेले काम गरेर देखाउन अनुरोध गरेका छन्। अहिले नै उनीहरूलाई पार्टीमा ल्याउने कि भन्दै गरिएको प्रश्नमा लामिछानेले भने, ‘यस विषयमा अहिले कुनै छलफल भएको छैन। उहाँहरुलाई समेट्न सकिन्छ। तर, पार्टीमा ल्याउनेभन्दा पनि अहिले काम गर्न दिनुपर्छ।’
उनले पूर्व डिआइजी रमेश खरेलसँग भने आफ्नो छलफल भएको बताए। आफूहरुको प्राथमिकता जनताको मुद्दा हुने लामिछानेको भनाइ छ। उनले खरेलसँगको छलफलमा साझा अजेण्डामा काम गर्न सकिने कुराकानी भएको जानकारी दिए।
‘हामीले केही गरेर देखाउने कुरा गरेका छौं,’ उनले भने, ‘अब त अत्ति भयो भनेर हामी एक ठाउँमा उभिएका छौं।’
राजनीतिक पृष्ठभूमिबाट आएकाले मात्र काम गर्न सक्छन् भन्ने भाष्य परिवर्तन गर्न पनि स्वतन्त्र रुपमा निर्वाचित जनप्रतिनिधि सफल हुनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।