काठमाडौं– नेपालमा जब–जब निर्वाचनको मिति नजिकिँदै जान्छ, तब नयाँ दल दर्ता हुने क्रम बढ्छ। पछिल्लो एक दशकमा भने नयाँ दर्ता भएका केही दलले निकै चर्चा कमाए। यसपालि पनि स्थानीय निर्वाचन सम्पन्न भएर प्रदेश र संघको निर्वाचन संघारमा छ। यही बेला वैकल्पिक शक्ति निर्माणको आकांक्षा राख्दै नयाँ दल दर्ताको होड चलेको छ।
यो होडमा मिसिन पुगेका छन् पूर्वसञ्चारकर्मी रवि लामिछाने। मुख्य दलको विकल्पको रुपमा प्रस्तुत हुने भन्दै उनी नयाँ दल दर्ताको तयारीमा छन्। उनले दलकाे नाम पनि जुराइसकेका छन्- राष्ट्रिय स्वतन्त्र पार्टी।
निर्वाचनको संघारमा दल दर्ताको होड चल्नु कुनै नौलो कुरा होइन। यसअघिका निर्वाचनमा पनि चर्चित व्यक्तिहरूले आफूलाई वैकल्पिक शक्तिका रुपमा दाबी गर्दै दल दर्ता गराएकै हुन्। लामिछाने पछिल्लो उदाहरण मात्र हुन्।
गएको स्थानीय निर्वाचनअघि पनि केही नयाँ दल दर्ता भए। तीमध्ये पूर्वप्रहरी (डीआईजी) रमेश खरेलले पनि राजनीतिमा वैकल्पिक शक्तिका रुपमा आफूलाई स्थापित गराउने दाबीसहित दल दर्ता गरे। उनले नेपाल सुशासन पार्टी दर्ता गरेर स्थानीय निर्वाचनमा होमिएका थिए। उनको पार्टीले पर्सामा आफ्नो उपस्थिति देखाएको थियो। पर्साको पोखरिया नगरपालिकाको एउटा वडाध्यक्ष सुशासन पार्टीले जितेको छ। मेयरमा सुशासनका शंकर राउत अहिरले २,९०९ मत ल्याएर तेस्रो हुँदा एमालेका प्रद्युम्न चौहान ५,५५४ मतसिहत विजयी भए।
त्यसअघि २०७४ सालको निर्वाचनमा पनि 'वैकल्पिक शक्ति'को नाममा केही दल खडा भएका थिए। निर्वाचनको मिति सार्वजनिक भएसँगै पत्रकार रहेका रवीन्द्र मिश्र साझा पार्टी बनाएर निर्वाचनमा सहभागी भए। बीबीसीको जागिर छाडेर राजनीतिमा लागेका मिश्रले तत्कालीन समयमा सार्वजनिक वृत्तमा राम्रै स्थान पाएका थिए। तर जति चर्चा भयो, त्यति भोट बटुल्न भने उनको पार्टी असफल भयो।
साझा पार्टीले उक्त निर्वाचनमा कतै पनि आफ्ना उम्मेदवार जिताउन सकेन। बागमती प्रदेश सभामा भने समानुपातिकबाट तीन जनाको प्रतिनिधित्व गराउन सफल भएको थियो। २०७९ सालमा आइपुग्दा मिश्रले आफैले नेतृत्व गरेको पार्टीको कार्यकारी पदबाटै राजीनामा दिएका छन्।
मिश्रले पार्टी गठन गरेको ठीक एक वर्षअगाडि २०७३ जेठमा डा.बाबुराम भट्टराईले पाँच वर्षदेखि २५ वर्षसम्म गरिने कामहरूको विवरण सार्वजनिक गर्दै 'नयाँ शक्ति पार्टी' गठन गरे। पूर्व प्रशासक, पूर्व माओवादीका केही प्रभावशाली नेता र अभिनेतालाई साथमा लिएर गठन भएको उक्त पार्टी २०७४ सालको निर्वाचनमा राष्ट्रिय दल बन्न सकेन।
उक्त निर्वाचनमा भट्टराईले मात्र संघीय संसद्मा प्रत्यक्षतर्फको निर्वाचन जित्न सके। तर, पार्टीले समानुपातिकतर्फ ३% मत पनि ल्याउन नसक्दा समानुपातिकमा प्रतिनिधित्व हुन सकेन। भट्टराईको हैसियत पनि स्वतन्त्र सांसद्को मात्र भयो। प्रदेशतर्फ बागमतीमा रसुवाबाट प्रेम तामाङले मात्र निर्वाचन जिते। नेपालको संविधानमा राष्ट्रिय दल बन्न समानुपातिक तर्फ ३% र प्रत्यक्ष तर्फ १ सिटमा जित हासिल गर्नुपर्ने हुन्छ।
उता विसं २०७० को दशकको सुरुवातबाटै फरक किसिमको राजनीतिक अभियान गर्दै आएको उज्जवल थापाको समूह पनि २०७४ को निर्वाचनमा विवेकशील पार्टीका नाममा निर्वाचनमा सहभागी भएको थियो। यसअघि उनले 'विवेशकील नेपाली' नाममा राजनीतिक चेतना फैलाउने भन्दै अभियान चलाएका थिए।
सामाजिक सञ्जाल र बाहिरी चर्चामा प्रभाव राम्रै देखिए पनि साझा पार्टीले एकाधबाहेक जनप्रतिनिधिका रुपमा जित हासिल गर्न सकेन। पछि मिलन पाण्डेको नेतृत्वमा रहेको विवेकशील र मिश्रको साझा पार्टीको एकस्करण गरेर बनेको विवेकशील साझा पार्टीलाई वैकल्पिक शक्तिकै रूपमा हेर्न थालेका थिए। मिश्र अध्यक्ष र पाण्डे संयोजक थिए। तर, आन्तरिक गुटबन्दीका कारण अहिले उक्त पार्टी छिन्न–भिन्न भएको छ।
वैकल्पिक बन्न आएका पार्टीहरू विघटन तथा पतनको बाटोमा गइरहेको अवस्थामा उही पुरानै ढर्रा वा ढाँचामा निर्वाचनछेक पार्टी गठन गर्न आइपुगेका छन् सञ्चारकर्मी लामिछाने। यसरी निर्वाचनकै बेला 'वैकल्पिक शक्ति' बन्ने होडमा आउने जमातलाई राजनीतिक विश्लेषक मुमाराम खनाल ‘मौसमी’ भन्छन्।
नेपाली समाजको जटिलतालाई नबुझी पार्टी गठन हुने र निर्वाचनको नतिजा अपेक्षित नभएपछि पार्टीहरू हराउने पाराले राजनीति नचल्ने बताउँछन् उनी। ‘नेपाली समाजको राजनीति, नेपाली समाज र अहिलेका राजनीतिक दलहरूको इतिहासलाई नबुझिकनै एउटा सेन्टिमेन्टबाट चुनावमा प्रचार गरिहाल्ने र रमाएर बस्ने जमात मौसमी नै हो,’ उनी भन्छन्, ‘विशेषगरी, यो जमात काठमाडौं केन्द्रित छ। तर, नेपालको राजनीति यस्तो मौसमी पाराले चल्दैन।’
खनालका अनुसार यसरी पार्टीहरू सफल नहुनुमा नेतृत्व गर्न आउने व्यक्तिवादी र अहंकारी भएकाले हो। रवीन्द्र मिश्रको उदाहरण दिँदै उनी भन्छन्, ‘रवीन्द्र मिश्रले जनतालाई आफूतिर आर्कषित गर्न सकिन्छ भन्ने जुन बालसुलभ हठका साथ केन्द्रित हनुभयो। त्यो असफल भएर गयो। उहाँ एकदमै व्यक्तिकेन्द्रित हुनुभयो।’
खनाल वैकल्पिक राजनीतिक दलका लागि पर्याप्त आधारहरू रहेको बताउँछन्। तर, शक्ति निर्माण भएर आउन नसकेको र तत्काल संकेत नदेखिएको उनको भनाइ छ। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीहरू राजनीतिमा वैकल्पिक शक्ति बन्ने उद्देश्यकासाथ आउने भए पनि चुनावमा मात्र केन्द्रित हुँदा चाहिँ पानीको फोकाजस्तो बन्ने गरेको बताउँछन्।
‘राजनीतिमा वैकल्पिक शक्ति बन्ने उद्देश्यकासाथ आउने हो,’ उनी भन्छन्, ‘चुनावको सन्निकट पार्टी दर्ता गर्ने अनि चुनावमा जितेर देश नै उल्टयाउँछु भनेर राजनीतिमा आउने चाहिँ पानीकै फोका हुन्। जसलाई मौसमी पनि भन्न मिल्छ।’
पाण्डेको विवेकशील आफैं वैकल्पिक शक्तिको रूपमा प्रस्तुत भएको थियो। तर, त्यस पार्टीको अहिलेको अवस्था निकै रुग्ण रहेको छ। पाण्डे यो कुरा आफ्नो पार्टीको हकमा भने स्वीस्कार्न सक्दैनन्।
‘विवेकशील पार्टी २० वर्षको समय लिएर राजनीतिमा प्रवेश गरेको हो,’ उनी भन्छन्, ‘पार्टीमा उदार–चढाव हुन्छ नै। अनि उद्देश्य निर्वाचन मात्र बोकेर आएको छ भने पानीको फोका भइहाल्छ तर बदल्छु भनेर आएको छ भने त सफल भइहाल्छ नि!’
आफ्नै पार्टीको उदाहरण दिँदै पाण्डे केही मात्र सफल हुँदैमा ठूलो बनाउने र केही अन्तरसंघर्ष हुँदैमा सकियो भन्ने भन्ने ‘न्यारेटिभ’ गलत रहेको बताउँछन्। उनी भन्छन्, ‘वैकल्पिक शक्तिलाई कस्तो ‘न्यारेटिभ’ स्थपित हुन्छ भने, चार पाँच वर्ष अगाडि विवेकशीललाई भव्य भनिन्थ्यो। जुन सहि थिएन। अहिले सकियो भनिँदैछ। त्यो पनि सही होइन।’
नेतृत्व गर्ने ‘एक्टर’ नै व्यक्तिवादी बन्ने होडले यो आन्दोलन बेलाबेलामा टुट्ने गरेको उनको बुझाइ छ। तर रविसम्मको उदयलाई हेर्दा वैकल्पिक शक्तिका रुपमा आफूले ७० साल तिरबाट चलाएको अभियान स्थापित हुँदै गएको र बलियो शक्तिको आवश्यकता बढ्दै गएको तर्क छ उनको।
पाण्डेको तर्कसँग सहमत छन् विश्लेषक खनाल। बैशाख ३० को स्थानीय तहको निर्वाचनको नतिजालाई आधार मान्दै खनाल भन्छन्, ‘व्यक्तिगत रूपमा बालेन, हर्क साम्पाङहरूको उदय भएको छ। तिनि कति सफल, कति असफल हुन्छन्। त्यो भोलि नै थाहा होला। तर, यसले के पुष्टि गर्छ भने बलियो वैकल्पिक शक्तिको आवश्यकता रहेको छ।’
नयाँ शक्तिबाट वैकल्पिक शक्तिको रूपमा उदाउने उद्घोष गरेका बाबुराम भट्टराई अहिले मार्ग परिवर्तन गरेर परम्परागत पार्टीकै एक हिस्सासँग ‘मर्ज’ भएका छन्। तर, उनी वैकल्पिक शक्तिहरूको उदय झन् बढेको बताउँछन्। यसको आवश्यकता र औचित्य बढेर गएको बताउँदै हिम्मत नहार्न आव्हान गर्छन् भट्टराई।
‘वैकल्पिक राजनीतिको आवश्यकता वा औचित्य समाप्त भएको छैन। बरु नेपालमा मात्र हैन विश्व स्तरमा नै बढेर गएको छ’, सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै उनी भन्छन्, ‘विज्ञानको विकास विभिन्न प्रयोगशालाका परीक्षणबाट गुज्रेर मात्रै हुन्छ। नयाँ शक्ति, विवेकशील आदि परीक्षण हुन्। अझै थुप्रै परीक्षण हुनेछन्, हुनुपर्छ। हिम्मत नहारौं।’
पछिल्लो समय रवि लामिछानेले पार्टी गठन गर्ने घोषणा गरेपछि यस्ता शक्तिहरूको सफलता र असफलताबारे विभिन्न टिप्पणी भइरहेका छन्। हिजो वैकल्पिक शक्ति बनेर परिवर्तन गर्छु भनेर आएका मिश्र, पाण्डे, र भट्टराईहरू कि त मार्ग परिवर्तन गरेका छन्, या त आफैं अल्मलिएर बसेका छन्। तर, आफ्ना कमजोरीबाट सिक्न रविलाई सुझाव दिइरहेका छन्। यि कुरा तिनका पछिल्ला सार्वजनिक अभिव्यक्तिले पुष्टि गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।