नेकपा– नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन्।
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताए।
उनले भने, ‘हाम्रो दिमागमा तीनवटा कुरा सदैव रहनुपर्छ। आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौँ। कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ। विदेशीहरूको सामु लम्पसार पर्दैन। विदेशीहरुका सामु घुँडा टेक्दैन। विदेशीका ईसारामा नाच्दैन। विदेशीहरुको स्वार्थमा चल्दैन। आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राख्छ। फलस्वरुप जनताको विश्वास हामी जित्न सक्छौं।’
अध्यक्ष नेपालले पार्टीको पोलिटब्यूरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस जानकारी दिए। उनले कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्बन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको बताए।
अध्यक्ष नेपालले परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यक्ता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्नसकेमात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।