काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका अन्य दलको प्रभावमा पर्दा आफ्नो पार्टीका मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय मिनभवनमा जारी पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्री फेर्नेबारे आफूले प्रधानमन्त्री देउवासँग पटक–पटक कुराकानी गरेपनि कार्यान्वयन नभएको बताए।
प्रधानमन्त्री देउवा गठबन्धनका अरु दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको अध्यक्ष नेपालको भनाइ छ।
पार्टी पोलिटब्यूरोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरिरहेका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष नेपालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन नहुनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भूमिका बढी जिम्मेवार रहेको पनि बताएका छन्। अहिले एकीकृत समाजवादीका मन्त्रीहरु फेर्दा आफ्नो पार्टीमा पनि दबाब सिर्जना हुने भएपछि प्रचण्डले देउवालाई मन्त्री फेर्न नदिएको नेपालको भनाइ छ।
यद्यपि मन्त्री फेर्ने पार्टीको निर्णय जसरी पनि कार्यान्वयन हुने नेता नेपालको भनाइ छ। ‘पार्टीले निर्णय गरेर मन्त्रीहरु परिर्वतन गर्ने भनेकाले छिट्टै कार्यान्वयन हुन्छ,’ अध्यक्ष नेपालले बैठकमा गरेको सम्बोधन उद्धृत गर्दै नेता मेटमणि चौधरीले भने, ‘सुरुरुमा बजेट पारित र जवाफ दिने कुराले रोकिएको हो। अहिले गठबन्धनको दलभित्र समस्या हुने कुरा भएकाले यी सबै मिलाएर पार्टीको निर्णय कार्यान्वयन हुन्छ।’
बिहान साढे ११ बजेदेखि सुरु भएको पोलिटब्यूरोको बैठकमा मन्त्रीहरू विरोध खतिवडा र प्रेम आले उपस्थित छन्। मन्त्री रामकुमारी झाँक्री भने अनुपस्थित रहेकी छन्। एकीकृत समाजवादीमा ७१ सदस्यीय पोलिटब्युरो रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।