काठमाडौं– मार्क्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, समाजवाद, इतिहास, विज्ञान–प्रविधि, नेपाल चिन्तन र सामयिक विषयमा अनलाइन कक्षा सञ्चालन गर्दै आएको मार्क्सवादी ज्ञान केन्द्रले सात दिने नयाँ कक्षा सञ्चालन गर्ने भएको छ।
केन्द्रले असार १३ गतेदेखि १९ गतेसम्म भर्चुअल माध्यमबाट १४औँ चरणको कक्षा सञ्चालन गर्न लागेको हो। कक्षामा देशैभरिबाट ३५० जना सहभागीहरूको उपस्थिति रहने आयोजकले जनाएको छ। कक्षामा सातवटै प्रदेश र प्रवासबाट समेत सहभागिता रहने केन्द्रका महासचिव इन्द्रराज भट्टराईले जानकारी दिए।
कक्षा विगतको भन्दा फरक विषयमा सञ्चालन हुने बताइएको छ। दर्शनको जीवनमा प्रयोग, आजको विश्व र डिजिटल अर्थतन्त्र, सेयर मार्केट र राज्यले लिनुपर्ने नीति, नेपाली समाजको भौतिकवादी विवेचना, विज्ञानका नयाँ आयामहरू लगायतका विषयमा कक्षा सञ्चालन हुने आयोजकले जनाएको छ।
१४औं चरणको कक्षाको सोमबार साँझ पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले उद्घाटन गर्नेछन्। उद्घाटनमा एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटालाई वक्ताको रूपमा आमन्त्रण गरिएको छ।
कक्षामा वामपन्थी विश्लेषक श्याम श्रेष्ठले दर्शनको जीवनमा प्रयोग, दीपक गौतमले सेयर मार्केट र राज्यले लिनुपर्ने नीति, प्रा. अचलराज पाण्डेले डिजिटल अर्थतन्त्र र प्रभावहरू, लेखक सीताराम तामाङले नेपाली समाजको भौतिकवादी विवेचना र डा. शंकर खतिवडाले विज्ञानका नयाँ आयामहरू विषयमा कक्षा लिने तय भएको केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले जानकारी दिए।
कक्षा साँझको समयमा सञ्चालन गरिने ज्ञान केन्द्रले जनाएको छ। साँझ ७ः४५ देखि ९ः४५ बजेसम्म सञ्चालन हुनेछ। कक्षामा सहभागी हुनेले तोकेको मापदण्ड पालना गर्नुपर्ने ज्ञान केन्द्रले जनाएको छ।
कक्षालाई प्रभावकारी बनाउन कार्यसमितिको कार्यविभाजन गरिएको केन्द्रले जनाएको छ। केन्द्रले यसअघि १३औं चरणसम्मका कक्षा सञ्चालन गरी सहभागीको परीक्षा, प्रमाणपत्र र पुस्कारको समेत व्यवस्था गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।