काठमाडौं– बचतकर्ताको करोडौं रकम ठगी गरेको आरोप लागेका व्यापारी इच्छाराज तामाङलाई धरौटीमा रिहा गराउन न्यायाधीशलाई वकिलले 'घुस' प्रस्ताव गरेको अडियोबारे प्रतिनिधि सभाको बैठकमा पनि आवाज उठेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने सांसद्हरुले न्यायाधीश-वकिल अडियो प्रकरणको विषयमा आवाज उठाएका हुन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच 'घुस लेनदेन'का सन्दर्भमा भएको गोप्य संवादको अडियो मंगलबार साँझ बाहिरिएको थियो।
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् लिला सिटौलाले नेपालको न्यायालय कस्तो छ भनेर जनताले प्रष्टै हुने गरी र आफ्नै आँखाले देख्नेगरी अडियो बाहिर आएको बताइन्। उनले थपिन्, 'दुःखका साथ भन्नुपर्छ, यो देशमा सरकारी निकायमा रहनेहरु प्रायजसो सबै राज्यको कोषबाट तलब भत्ता बुझ्नेहरु सेटिङमा रातदिन पैसा कमाउन लागिरहेका छन्।'
सिटौलाले मुद्रा सञ्चिती संकटमा पुगेको र देश टाट पल्टिएको सन्दर्भ उल्लेख गर्दै 'अदालत सेटिङमा घुस खान्छ' भनिन्। 'हिजो सुनियो मन्त्रीहरुले पनि सेटिङ गरेर घुस खाएको। अब कर्मचारीतन्त्र त्यस्तै। सबै सेटिङमा घुस खाने, पैसा जोड्ने, घर बनाउने, गाडी जोड्ने। जनता हेरिरहेका छन्। मैले जनताको आवाज बोलेको हो', उनले भनिन्।
विशेष समयमै बोल्दै अर्का सांसद् गजेन्द्र महत अडियो बजारमा आएको भन्दै न्यायालयमा जात्रा चलेको बताए। 'हुन त न्यायालयमा भएको विचाराधीन मुद्दामा यहाँ बहस गर्न पाइने छैन भनिन्छ। यो कुरा पुरानो भइसक्यो जस्तो लाग्छ। न्यायालयमा जुन जात्रा चलिरहेको छ, भ्रष्टाचारको अखडा न्यायालय बनेको छ। अब हामी (व्यवस्थापिका) बन्धक भएर बस्न हुँदैन', उनले भने।
महतले अब पनि आफूहरुले न्यायालयको बारेमा कुरा उठाउन नसके, त्यहाँका विचाराधीन मुद्दाका विषयमा बहस गर्न नसके आफूहरु पनि बन्धक हुने बताए।
'हिजोआजको जात्रा हामीले सुनिरहेकै छौँ। यसलाई टुलुटुलु हेरिरहन सक्दैनौँ। व्यवस्थापिका टुलुटुलु हेरिरहन सक्दैन। हामी जनताका प्रतिनिधि यो जात्रालाई टुलुटुलु हेरिरहन सक्दैनौँ', उनको भनाइ थियो।
सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सीआईबीले पक्राउ गरेकोमा तामाङलाई धरौटीमा छाड्न अधिवक्ता पोखरेलले दुई करोडको घूसको प्रस्ताव गरेको अडियोमा सुन्न सकिन्छ। जसप्रति सुरुमा असजिलो मानेका न्यायाधीश कोइरालाले अन्तिममा सहमति जनाएको अडियोमा सुन्न सकिन्छ।
अडियो बाहिरिएपछि न्यायपरिषद् अध्यक्ष कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबारै न्याय परिषद्को आकस्मिक बैठक बोलाएका थिए। बैठकले न्यायाधीश कोइरालामाथि छानबिनका लागि न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई ४५ दिने अवधि दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।