काठमाडौं– नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्पूर्ण दस्तावेज संसद्मा पेस गर्न माग गरेकी छिन्।
'संसद्देखि नागरिक तहसम्म गम्भीर चासोको विषय बनेको एसपीपीमा सुरुवाती बिन्दुदेखि त्यसमा संलग्न नहुने निर्णय पुग्दासम्म भएका सबै पत्राचार र गतिविधिहरुको पूर्ण विवरण नेपाली नागरिकले जान्न पाउनुपर्छ', उनले भनिन्, 'त्यसैले संविधानले सुनिश्चित गरेको सूचनाको हकको समेत प्रत्याभूति गर्दै यसको पूर्ण जानकारीको दस्तावेज आम नागरिकसम्मको पहुँचमा हुने गरी अवधि नै तोकेर सार्वभौम संसद्मा पेश गर्न सरकारलाई निर्देशन गरियोस् भन्ने माग गर्न चाहन्छु।'
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पाण्डेले एसपीपीमा नेपाल संलग्न नहुने स्पष्ट गर्दै सरकारले पत्राचार गर्ने कुराले नेपालको सार्वभौमसत्ता र नेपालीको स्वभिमान जोगाउन संसद् र सचेत नेपाली नागरिकको खबरदारी सफल भएको बताइन्।
त्यस्तै पाण्डेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको सन्दर्भमा सीसीटीभी फुटेज संसद्मा उपलब्ध गराउन पनि माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।