काठमाडौं–जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र कानुन व्यवसायी रुद्र पोखरेलका बीचमा भएको घुस लेनदेनको अडिओ सार्वजनिक भएपछि न्यायालय तरंगित भएको छ।
पछिल्लो समय चोलेन्द्रशम्शेर राणाको नाममा आन्दोलन भएर साख गुमाएको न्यायालय फेरि एकपटक न्यायाधीशको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएको छ।
न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको छानबिन समितिले न्यायालयमा भ्रष्टाचार छ भनि स्वीकार गरेको केही समयमा राणा र घुस प्रकरण सार्वजनिक भएका छन्। यसले गर्दा एकपछि अर्को रूपमा न्यायालयको छविमा असर पुर्याएको पूर्व न्यायाधीशहरूको टिप्पणी छ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी न्यायाधीश र कानुन व्यवसायीकाबीचमा घुस लेनदेन र मोलमाेलाइको कुरा सार्वजनिक रुपमा आउनु न्यायालय र यसका नेतृत्वमाथि गम्भीर प्रश्न भएकाे बताउँछन्।
न्यायालयमा भ्रष्टाचार छ भनेर आफूले पदमै रहँदासमेत बोलेको सम्झना गर्दै उनले भने, ‘विगतमा पनि यसमा प्रश्न उठाइयो तर गम्भीर भएर काम नगर्दाको परिणाम अहिले पछिल्लो समयमा एकपछि अर्को रुपमा देखा परिरहेका छन्।’
उनले अघि भने, ‘मैले न्यायाधीश हुँदैदेखि भनेको न्यायालयमा भ्रष्टाचार छ। नेतृत्व निर्मम भएर कारबाहीमा केन्द्रित हुनपर्यो भनेका कुरा अहिले स्थापित हुँदैछन्।
प्रधानन्यायाधीशविरुद्ध वहालवाला न्यायाधीशले आन्दोलन गर्नुपर्ने, न्यायालयको सहयोगी नेपालबारले २२ बुँदे आरोप लगाउनुपर्ने अनि महाअभियोगमा त्यस्तै बुँदाहरु समावेश हुनुले यसको पुनः पुष्टि भएको छ।’
उनले अहिले अडिओ प्रकरणले झन् न्यायालयमा भ्रष्टाचारको जालो गाडिएको छ भन्ने कुरा पुष्टि गरेको बताए। ‘अदालतमा भष्टाचारले बलियो जरा गाडेको छ,’ केसीले भने, ‘यसमा सर्वोच्चका नेतृत्व(प्रधानन्यायाधीश) र न्याय परिषद् पनि उत्तिकै दोषी छन्।’
गलत मानिसहरू नियुक्ति गर्नेदेखि उनीहरूमाथि परेको उजुरीमा किन गम्भीर रुपमा छानबिन गरेर कारबाही गरिएन भन्दै न्याय परिषद्माथि केसीले प्रश्न गरेका छन्।
‘न्याय परिषद् उजुरीमाथि छानबिन गरेर कारबाही गर्नेभन्दा उजुरी थन्क्याउने थलो बन्यो र बनाइयो,’ उनले भने, ‘घरभित्रै हुर्केको यही संस्कार अहिले अडिओ बनेर बाहिर आयो।’
अडिओ प्रकरणलाई उनले न्यायालयमाथि रातो बत्ती बलेको टिप्पणी गरेका छन्। अब न्यायालय खतराको अवस्थामा पुगेको भन्दै उनले चाँडै उद्धारका लागि छानबिन हुनुपर्ने बताए।
अबको नेतृत्व र परिषद्ले के गर्ने भनेर आवश्यक निर्णय लिनुपर्ने बेला आएको उनको भनाइ छ। ‘अब फूलकोर्ट बसेर एउटा मापदण्ड बनाएरै जानुपर्छ। अदालतमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियारजस्तै निकाय बन्नुपर्यो,’ उनले भने, ‘आयोग बनाएर त्यसमा स्वतन्त्र व्यक्ति राखिनुपर्छ। अनि कारबाहीका लागि पनि अलग्गै अदालत बनाउनुपर्छ।’
चोलेन्द्रशम्शेर राणाको नेतृत्वका कारण खस्केको अदालतको आस्था यो अडिओ प्रकरणले थप खस्काएको उनको विश्लेषण छ। यसमा सुधारको सुरुआत गर्नका लागि केही न केही कदम चाल्नुपर्ने आवश्यकता देखिएको उनले औंल्याए।
यस्तै विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीले पनि सार्वजनिक अडिओ प्रकरणले न्यायाधीश र कानुन व्यवसायी दुवैको चरित्र र चित्र देखाएको टिप्पणी गरे।
‘केही न्यायाधीश बिक्रीमा छन्। केही प्रधानन्यायाधीशसमेत यसमा संलग्न भएको विगतले देखायो,’ उनले भने, ‘यस्ता पात्र जुनसुकै बेलामा पनि बिक्री भएका छन्।’
उनले वकिलका लागि यो पहिलोपटक नभएको पनि बताए। ‘वकिल पटक–पटक किनिएको र मापदण्ड मिचेर न्यायाधीशलाई सम्बोधन पनि नगरी आदेश लेख्नेदेखि पैसा कसरी माग्ने भन्नेसमम सिकाएको देखियो,’ उनले भने, ‘समग्र न्यायलय यस्तो हैन। भ्रष्ट न्यायाधीशको संरक्षण प्रधानन्यायाधीशले गर्दा यस्तो समस्या आएको हो।’
उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको नामसमेत अडियोमा आएको कुराले पनि धेरै संकेत गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।