झापा- जिल्ला समन्वय समिति झापाको प्रमुखमा विश्व बरालको एक मात्र उम्मेदवारी परेको छ।
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार मनोनयन दर्ताका क्रममा बरालको मात्रै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। दमक निवासी बरालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै उपप्रमुख पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट शान्ता रोक्काको मात्रै उम्मेदवारी परेको छ। जिल्ला समन्वय समितिमा एक/एक जना प्रमुख र उपप्रमुख रहने व्यवस्था छ। दुई खुल्ला सदस्य, तीन महिला सदस्य र दलित वा अल्पसङ्ख्यकबाट एक सदस्य रहने व्यवस्था छ।
सोही व्यवस्था अनुसार सदस्य देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रीता नेपाली निर्विरोध निर्वाचित भएका हुन्। जिल्ला निर्वाचन कार्यालय झापाले भने औपचारिकरूपमा घोषणा गरेको छैन।
झापामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकल बहुमत रहेकाले अन्य दलले उम्मेदवारी दर्ता गराएका छैनन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार मंगलबार मनोनयन दर्ता, बुधबार चुनाव चिह्न वितरण र दाबी विरोधको समय र पर्सि ९ गते मतदानसँगै विजयी घोषणा गर्ने निर्वाचन कार्यतालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।