काठमाडौं– जनताको समस्या समाधानका लागि काम गर्न नसकेको भन्दै सरकारप्रति सत्तारुढ दलकै सांसदले असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्ने सत्तारुढ दलका सांसदले सरकारको कामकारबाहीबारे आलोचना गरेका हुन्।
कांग्रेस सांसद सञ्जयकुमार गौतम, नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागाईँ र नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले जनतालाई अझै मलको व्यवस्था गर्न नसकेको, आगामी आर्थिक वर्षको बजेटमा आफ्ना निर्वाचन क्षेत्रका लागि कुनै पनि बजेट विनियोजन नगरेको, महंगीले जनता मारमा पर्दा पनि राहत दिने तयारी समेत नगरेको भन्दै सरकारको आलोचना गरेका हुन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस सांसद गौतमले असार १५ बित्न लाग्दासमेत मलको व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनले महंगीको मारमा परेका जनतामा निराशा छाउन थालेको भन्दै त्यसतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराए।
यस्तै आफ्नो निर्वाचन क्षेत्रमा आगामी आर्थिक वर्षका लागि एउटा पनि बजेट नपारेको भन्दै नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागाईंले आपत्ति जनाइन्। गत माघ महिनादेखि जनताका सरोकारका योजनाहरुमा बजेट हाल्नका लागि अर्थमन्त्री जनार्दन शर्मासँगै कुरा गरेको उल्लेख गर्दै उनले त्यहाँ किन बजेट नपारेको हो? भन्दै प्रश्न गरिन्।
अर्का सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको नामै लिन सरकारले नचाहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले सो जलविद्युत आयोजना नेपाली लगानीमै सम्पन्न गर्नेगरी अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराइन्।
सांसद बिसुन्केले नेपालको जलविद्युत् निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमासमेत योगदान पु¥याउन सक्ने सो आयोजनाको काम अघि बढाउन किन बिलम्व गरेको? भन्दै सरकरालाई प्रश्नसमेत गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।