काठमाडौं– मंगलबार मात्रै नयाँ पार्टी घोषणा गरेका रवि लामिछानेले आफ्नो पार्टीले संवैधानिक समाजवादलाई अंगीकार गर्ने बताएका छन्। पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका उनले पत्रकारहरुमाझ सो कुरा बताएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गराएका लामिछानेले संवैधानिक समाजवादलाई अंगीकार गर्ने भने पनि त्यसको थप व्याख्या गर्न चाहेनन्। ‘यसका व्याख्याहरु लामो छ। पार्टीले अंगीकार गर्ने आधारमा पनि के छ र? नेपालमा एउटै पार्टी त छन् नि। जो जोसँग पनि मिलेका छन्’, आयोग परिसरमा उनले भने।
लामिछानेले सैद्धान्तिक विषयमा छलफल बाँकी नै रहेको बताए। तर, आफूहरुले आफ्नो पार्टीलाई पृथक बनाउन खोजेको उनको भनाइ छ। उनले सैद्धान्तिक विषय महाधिवेशनले तय गर्ने बताए।
‘आम निर्वाचन भएको एक वर्षमा महाधिवेशन तय गरेका छौं। यसभित्रका धेरै विषय छन्। सिद्धान्तको कुरा गर्दा संवैधानिक समाजवाद भनेका छौं। अरु फोरमहरुमा थप व्याख्या गरौंला’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।