काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेले पुँजीबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजीबजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताए।
पुँजीबजार धराशयी हुँदा सिंगो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानीकर्ताहरुको लगानी जोखिममा परेको भन्दै उनले पुँजी बजारको पुनर्उत्थान गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले नेपाल राष्ट्र बैंकले आफ्ना नीतिहरुलाई पुनरावलोकन गरेर भएपनि पुँजी बजारको जोखिम हटाउनुपर्ने बताए।
'लाखौँ नेपालीहरु आवद्ध भएको, लाखौँ नेपालीहरुले भरोसा गरेको यो सेयर मार्केटलाई हामीले कुनै न कुनै रुपमा पुनर्उत्थान गर्न जरुरी छ। त्यसका लागि अर्थमन्त्रीले एउटा जोखिमयुक्त कदम उठाएर अर्थमन्त्रालयले कदम उठाएर भए पनि नेपाल राष्ट्र बैंकले आफ्नो नीतिहरुलाई पुनरावलोकन गरेर भए पनि यो सेयर मार्केटका लगानीकर्ताहरुको जुन जोखिम छ, त्यो जोखिमबाट पुनरुत्थान गर्नका लागि जोडदार रुपमा हामी माग गर्न चाहान्छौँ’ उनले भने।
प्रमुख सचेतक भट्टराईले लगानीकर्ताहरुले आत्महत्या गर्ने तहसम्मको अवस्था उत्पन्न भएको भन्दै राज्यले आफूलाई बेखबर र गैरजिम्मेवार बनाउनु नहुने बताए। उनले लगानीकर्ताको सुरक्षा राज्यले गर्नुपर्ने बताए।
उनले पुँजीबजार सुधारको माग राखि अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको भन्दै कोइरालाको माग सम्बोधन गर्न पनि सरकार सँग माग गरे।
'लगानीकर्ताहरु आत्महत्याको तहसम्म जानुपर्ने अवस्था उत्पन्न भएको छ। राज्यले आफूलाई बेखबर र गैरजिम्मेवार ठान्नु किमार्थ स्वीकार्य हुन सक्दैन। हामीले राज्यको तर्फबाट यथोचित ध्यान दिन सकिएन र लगानीकर्ताहरुको सुरक्षा गर्न सकिएन भने राज्य कसैको अभिभावक बन्न सक्दैन' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।