काठमाडौं– आगामी साउन १ गतेदेखि विदेशमा रहेका नेपालीहरूकोसमेत नामावली संकलन गर्नेमा कुरामा निर्वाचन आयोग सकारात्मक देखिएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आयोगलाई मतदानकै अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराउँदै मतदाता नामावली संकलन थाल्नुपर्ने प्रस्ताव गरेका हुन्।
महामन्त्री थापाले भने, ‘विदेशबाटै मतदानको व्यवस्था गर्न कानुन संशोधन गर्नुपर्ने हुन्छ तर मतदानका बेला आउने तर नामावली संकलन गर्न बाहिर हुनेका लागि कानुनले रोक्दैन, पहल गर्नुपर्छ भनेका छौं।’
विशदेमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने कुरामा आयोग सकारात्मक देखिएको उनले बताए। सकेसम्म साउन १ बाटै उक्त कार्य थाल्नेगरी तयारी गर्ने बचन आयोगले दिएको जानकारी दिए।
यसैगरी विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्न सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा पनि आयोग सकारात्मक देखिएको छ। त्यसका लागि कानुन संशोधन प्रक्रिया थाल्ने बताइएको छ।
राजनीतिक दलहरूले उक्त कुरामा सघाउँदा आयोग त्यसका लागि सधैं सकारात्मक रहेको जानकारी प्रमुख निर्वाचन आयुक्त थपलियाले दिएका छन्।
महामन्त्री शर्माले भने, ‘उहाँहरूले हाम्रो पहललाई सकारात्मक रूपमा लिनुभएको छ। कानुन निर्माण प्रक्रियामा अग्रसर हुने बताउनुभएको छ। उहाँहरुले पठाएको नोट चल्ने तर भोट नचल्ने अवस्थाको अन्त्य हुनुपर्छ भनेर हामीले पहल गरिरहेका छौं।’
विदेशमा ४० लाख नेपाली रहेको बताउँदै उनीहरुसँग भोट भन्दा पनि भावना गाँस्ने कुरामा आफूहरु सक्रिय भएको बताए।
यसैगरी निर्वाचनलाई आचारसंहितालाई पनि चुस्त बनाउनेमा छलफल भएको महामन्त्री थापाले बताए। ‘आचारसंहितमा समेटिने धेरै कुरा औपचारिकताका लागि हुन्। आयोगले आचारसंहिता अनुगमन गर्न नसक्ने र कार्यान्वयन गर्न हामी पनि इमान्दार नहुने अवस्था छ। आचारसंहितालाई ठूलो र भद्दा बनाउने भन्दा पनि त्यस्ता कुरा हटाउँ भनेर प्रस्ताव गरेकका छौं।’ उनले भने।
साथै प्रचारप्रसार अवधि छोटो बनाउने कुरामा पनि छलफल भएको उनले बताए। प्रचारप्रसार अवधि छोटो हुँदा प्रतिष्पर्धा अझ स्वस्थ हुने र खर्च पनि घटाउने उनको भनाइ छ। उनले भने, ‘हामीले सुझाव दिएका छौं। सबै दलका साथीहरू राखेर केही दिनमा छलफल हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।