काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ।
स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरिन्।
नेपाल जलवायु परिवर्तनको असरले ठूलो समस्यामा पर्दै गएको उल्लेख गर्दै उनले दुवै देशको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न सहकार्य आवश्यक रहेको बताइन्।
मन्त्री भुसालले भनिन्, ‘हाम्रो पहाडमा पहिरो, तराईमा बाढी, तापक्रममा बृद्धिजस्ता जलवायु परिवर्तनका असर धेरै देखिन थालेका छन्, यस्ता समस्याको समाधान खोज्न आवश्यक छ। यी विषयमा नेपाल र स्वीस सरकार सहकार्य गरेर जानुपर्छ।’ उनले संघीयता कार्यान्वयन र रोजगारी विस्तारमा स्वीस सरकारबाट प्राप्त भएको सहयोगप्रति धन्यावाद व्यक्त गरिन्।
उक्त अवसरमा राजदूत क्याप्लरले नेपाललाई आर्थिकभन्दा पनि प्राविधिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्वीस सरकारले निरन्तर प्राविधिक सहयोग गर्ने विश्वास दिलाइन्।
उनले भनिन्, ‘हामीसँग टनेल एवं टर्वाइनजस्ता प्राविधिक क्षेत्रका लागि आवश्यक पर्ने ज्ञान र सीप छन्, त्यसलाई नेपालमा सहयोग गर्न चाहन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।