काठमाडौं– प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफलका लागि माओवादी केन्द्रका सांसद् गजेन्द्र महत रोस्ट्रममा पुगे।
आफ्नै शैलीमा उनले अहिले सबै ऋणमा परेको बताए। 'म त कस्तो देख्छु भने हरेक वर्ष हाम्रो व्यवसायीहरु, आउने वर्ष त अलिकति ऋण घटाउँला भन्छ तर अर्को वर्ष ऋण बढेकै छ। त्यो व्यापारीले अर्को वर्ष ऋण घटाउँछु भन्छ, यो देश र हाम्रो जनताको एउटै अनुपातमा गइरहेको छ। सरकार पनि ऋण घटाउँछु भन्छ, अझ बढी ऋण हुन्छ', उनले भने।
महतले सरकार मात्रै होइन, आम जनता पनि उसैगरी ऋणमा पर्दै गएको बताए। त्यसका लागि उनले आफ्नै परिवारको सन्दर्भ अघि सारे। 'हिजो गाउँमा ऋणी त कमै हुन्थ्यो। अहिले ऋणी बढिरहेका छन्। अहिले त म पनि ऋणी भइसकेँ। म मात्रै ऋणी छैन अर्थमन्त्रीज्यू। मेरो आइमाई पनि ऋणी भइसकी। विभिन्न समूह, के–के सहकारीबाट मेरो आइमाई पनि ऋणी भइसक्यो। के–के बाहनामा ऋणी भइसकी', उनले भने।
अझ अघि बढेर महतले आफ्नो परिवारै ऋणी भइसकेको बताए। त्यसक्रममा आफ्नो छोरो पनि ऋणी भएको उनको भनाइ छ। छोरो अध्ययनको नाममा ऋणी भएको उनले बताए। घरका बुढाबुढी पनि के–के बाहनामा ऋणी भइसकेका उनले बताए।
हिजो एउटा परिवारमा कोही नहुने तर अहिले लोग्ने, 'आइमाई' र छोराछोरी पनि ऋणी भइसकेका भन्दै अर्थमन्त्रीलाई 'कति गाह्रो छ हेर्नुस्' भने। उनले हरेक वर्ष ऋण घटाउने भनिए पनि ऋण भने बढिरहेको भन्दै सबैको ध्यान जानुपर्ने बताए।
यहाँसम्म आइपुग्दा उनले पटकपटक 'आइमाई' शब्द प्रयोग गरिसकेका थिए। नारी अधिकारवादीहरुले सो शब्दलाई अपमानजनक सम्बोधनको रुपमा लिन्छन्।
महतले सदनको रोस्ट्रमबाट सोही शब्द पटकपटक दोहोर्याएपछि केही सांसद्हरुले हात उठाएर असहमति जनाएका थिए। त्यसपछि स्वयं महतलाई पनि आफूले 'गलत' शब्द प्रयोग गरेको आभाष भएको जस्तो देखिन्छ। सभामुखले पनि पनि महततिर लक्षित गर्दै 'सम्बन्धित माननीय सदस्यलाई ज्ञान भइसक्यो' भन्छन्।
महतले पनि 'आइमाई' भनेर त्यसो (अपमान) गर्न नखोजेको प्रष्ट पार्छन्। उनले 'मेरो आइमाई भन्न खोजेको' भनेर आफूले आफ्नी श्रीमतीलाई भनेको बताउँछन्। 'हाम्रो गाउँघरको कुरा, गाउँघरको शब्द सुन्नुहोला', उनले आग्रह गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।