काठमाडौं– सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नेपाली शासकहरुले झुकेर अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अगाडि बढाउन सक्ने आशंका व्यक्त गरेका छन्। अहिलेलाई एसपीपीको 'च्याप्टर क्लोज' भएपनि शासकहरुले फेरि अगाडि बढाउन सक्ने महराको आशंका छ।
सोमबार काठमाडौंमा भएको ३१औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले भने, 'मलाई शंका छ कतै नेपाली शासकहरु झुक्ने त होइनन्? झुकेर भित्रभित्रै सम्झौता गर्ने त होइनन्। पछि पनि, ४/५ महिना पछि बेला आएछि सिद्धियो सिद्धियो भन्ने त होइनन् भन्ने आशंका छ।'
एसपीपीको सन्दर्भ अहिले केही महिनालाई भने टरिसकेको उनको भनाइ छ। 'एसपीपी केही समयलाई टरिसक्यो, सरकारले बोल्यो हामी गर्दैनौं, प्रतिपक्षले बोल्यो राष्ट्रहितको विरुद्ध छ,' महराले भने।
सबै पार्टीहरुले एसपीपी नेपालको राष्ट्रिय स्वाधिनताको विरुद्ध छ भन्ने कुरा भनिसकेपछि यो अहिले तत्काल सम्झौता हुन रोकिएको महराले बताए।
महराले फेरि एसपीपी सम्झौता हुने भन्ने आशंका कायम रहेको भन्दै यो आशंका मेटाइनुपर्ने बताए। 'यो आशंका मेटियोस्। र तपाईंहरुले मेटाउनोस्, अहिले म तपाईंलाई यत्ति भन्न चाहन्छु आजको दिनमा सबै पार्टी एसपीपीको विरुद्धमा छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।