काठमाडौं– सरकारले आम जनजीवनसँग सिधै जोडिने पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९२ बनाएपछि सांसदहरुले सरकारको आलोचना गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्ने केही सांसदहरुले सरकारले जनतामा आहत थपेको बताएका हुन्।
एमाले सांसद तथा पूर्वमन्त्री पद्मा अर्यालले इन्धनमा भारि मूल्यवृद्धि गरेको भन्दै सरकार जनताप्रति संवेदनशील नभएको आरोप लगाइन्। यसो हेर्दाखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको जस्तो देखिए पनि यो मूल्यवृद्धिले जनताको जीवनको हरेक अंगमा असर पर्ने उनको भनाइ छ। मूल्यवृद्धिबाट जनताको जीवन कष्टकर बन्दै गएको भन्दै उनले एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने अर्यालको भनाइ थियो।
अर्यालले मूल्यवृद्धिको के बाध्यता आइलाग्यो? भन्दै मन्त्रीले सदनमा आएर जनतालाई चित्तबुझ्दो जवाफ नदिँदासम्म एमालले सदन चल्न नदिने प्रष्ट पारिन्। विशेष समय लिएर बोलेकी उनले भनिन्, 'आज नै हामीलाई जवाफ दिनका निम्ति मन्त्रीलाई रुलिङ गर्न सभामुखलाई आग्रह गर्दछौँ। रुलिङको माग गर्दछौँ। जवाफ पाएपछि मात्रै संसद्को कारबाही अगाडि बढ्न सक्छ, नत्र सक्दैन।'
त्यसपछि एमाले सांसदहरु उठेर विरोध जनाएका थिए। सभामुखले रुलिङपछि मात्रै सभा अगाडि बढेको थियो। सभामुखको रुलिङ थियो, 'माननीय सदस्यहरुले उठाउनुभएको कुराप्रति मेरो ध्यानाकर्षण भएको छ। र, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। र यस विषयमा सरकारले सत्यतथ्य सदन समक्ष पेस गर्न निर्देश गर्दछु।'
प्रतिनिधि सभाको शून्य समयमा पनि केही सांसदहरुले यो विषयलाई उठाइहे। जसमा प्रतिपक्षी दलका साथै सत्ता पक्षका सांसद पनि थिए।
एमाले सांसद दामोदर भण्डारीले सरकारले पेट्रोलियम पदार्थको भाउमा एक महिनामा चार पटक मूल्यवृद्धि गरेको भन्दै हवाई भाडामा वृद्धि भएको बताए। 'काठमाडौं-दुबईको भाडा १४ हजार छ, काठमाडौं-धनगढीको भाडा १५ हजार पुगेको छ', उनले भने, 'मूल्यवृद्धिको मारमा जनताले ठूलो आहतको मार खेपिरहेको छ।'
माओवादी केन्द्रका सांसदले आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गराएको भन्दै मूल्यवृद्धि घटाएर वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
एमाले सांसद नवीना लामाले 'आफूलाई बीपीको समाजवादको अनुयायी ठान्ने कांग्रेस' र 'जनताको मुक्तिदाता ठान्ने माओवादी' को गठबन्धन सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको बताइन्। उनले सबै क्षेत्रमा मूल्यवृद्धि भएका कारण जनताको घरमा चुलो बाल्न मुस्किल परेको बताइन्।
एमालेकै सांसद नवराज सिलवालले 'यो सरकार नाफा कमाउने व्यापारी हो कि विचौलिया हो?' भन्दै प्रश्न गरे। उनले सरकारको 'वेलफेयर स्टेट'वाला अनुहार नराम्ररी कुरुप बनेको पनि बताए। 'एकै रातमा मट्टितेल डिजेलमा २७ रुपैयाँ प्रतिलिटर, पेट्रोलमा २१ रुपैयाँ प्रतिलिटर बढाएर यो सरकार जनतामाथि मजाक गरिरहेको छ। गठबन्धन सरकार आफ्नो कर्तव्यबाट च्युत भएको जनताले अनुभूति गर्न थालेका छन्', उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।