काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव अघि बढन नसक्नुको कारण माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद पण्डितले सो महाअभियोग प्रस्ताव अघि नबढनुको कारणबारे सभामुख अग्निप्रसाद सापकोटाले सदनमा जवाफ दिनुपर्ने माग गरेका हुन्।
उनले सो महाअभियोग प्रस्ताव छानबिनका लागि समितिमा रहेका सदस्यहरुको नामावली सभामुख सापकोटा आफैंले घोषणा गरेको उल्लेख गर्दै उनीहरुलाई जिम्मेवारीविहिन अवस्थामा राख्न मिल्ने कि नमिल्ने? भनि प्रश्न गरे।
सांसद पण्डितले आफ्नो पार्टी एमालेसँग छलफल नै नगरी ल्याइएको सो प्रस्ताव संसदबाट पास हुँदैन भन्ने डरले अघि नबढाएको हो कि भनि आशंका समेत व्यक्त गरे।
उनले भने, ‘यही संसदबाट महाअभियोग प्रस्ताव छलफल गर्नका निम्ति समिति बन्यो। सभामुख महोदयबाटै नाम घोषणा भएर महाअभियोग प्रस्ताव छानबिन गर्नको निम्ति जुन समिति बनेको थियो। अहिले काम पाएको छैन। कहिले काम पाउने हो? र, त्यो महाअभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरिकन ल्याइएको र पास हुन सक्दैन भनेर महाअभियोग प्रस्तावका प्रस्तावकहरु नै हराई सक्नु भएको हो कि या उहाँहरु यो प्रस्तावमाथि छानबिन गर्नका निम्ति तयार हुनुहुन्न? के भएको हो?'
सांसद पण्डितले विराटनगर विमानस्थल विस्तारका लागि लिइएको जग्गाको मुआब्जा तत्काल उपलब्ध गराउन पनि सरकारसँग माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।