काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले झन्डै डेढ घन्टासम्म छलफल गरेका हुन्।
उनीहरुले पार्टीको नीति महाधिवेशन, विभाग गठनदेखि समीक्षा बैठक र केन्द्रीय समितिलाई पूर्णता दिनेसम्मका विषयमा छलफल गरेको महामन्त्री शर्माले जानकारी दिए।
शर्माले भने, '१४औं महाधिवेशन पछि गर्नुपर्ने नीति महाधिवेशनको आयोजना गर्ने, निर्वाचनको समीक्षा गर्ने, केन्द्रीय समितिलाई पूर्णता दिने र ६ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग गठनका विषयमा हामीले सभापतिज्यूको ध्यानाकर्षण गराएका छौं।'
यसैगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का विषयमा पनि उनीहरुले छलफल गरेका छन्। लगातार भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महंगी बढ्दै गएकोले सरकारले गम्भीर भएर यसका लागि काम गर्नुपर्ने आफूहरुले बताएको शर्माले जानकारी दिए। यसैगरी सेयर बजारमा देखिएको समस्यातर्फ पनि सरककारले ध्यान दिनुपर्ने सुझाव उनीहरुले दिएका छन्।
जवाफमा देउवाले आफू यी कुरामा गम्भीर नै रहेको महामन्त्रीहरुसँग बताएका थिए। अहिले उठिरहेको एसपीपीको विषयमा आफूले सार्वजनिक रुपमा बताइसकेको देउवाको भनाइ थियो। यसैगरी विदेशमा रहेका प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चित गर्ने कुरा समेत उठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।