काठमाडौं– नेपाल र भुटानबीच चौथो व्यापार वार्ता सम्पन्न भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार दुई देशका प्रतिनिधिबीच सोमबार भर्चुअल माध्यमबाट वार्ता भएको हो।
वार्तामा नेपाल-भुटान बीचको व्यापार सम्झौता एवम् आपसी सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।
छलफलमा प्रतिनिधि मण्डलका नेताहरुले दुई देशबीचको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको बताउँदै व्यापार सम्झौतामार्फत् द्विपक्षीय सम्बन्ध र सहकार्यको आयामलाई थप विस्तार गर्न सकिने विश्वास व्यक्त गरेका थिए।
वार्तामा नेपाल-भुटान बीचको तेस्रो व्यापार वार्ताको पुनरावलोकन हुनुको साथै प्रस्तावित व्यापार सम्झौता अन्तर्गत उत्पत्तिको प्रमाणपत्रको मस्यौदामाथि छलफल भएको जनाइएको छ।
यस्तै, दुवै देशले आदानप्रदान गरेको सहुलियतपूर्ण वस्तुहरुको सूचिको सम्बन्धमा समेत छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। सोमबारको वार्तामा प्रस्तावित उत्पत्तिको नियमसँग सम्बन्धित मस्यौदामाथि नेपालको राय/सुझावको विषयमा आगामी बैठकमा थप छलफल गर्ने सहमति भएको छ। साथै, व्यापार सम्झौताको अनुसूचीमा रहने दुवै देशका सहुलियतपूर्ण बस्तुहरुको सूचीका विषयमा आन्तरिक छलफल गर्ने र उक्त सूचीलाई हार्मोनाइज्ड कोड २०२२ को संस्करणमा परिमार्जन गर्ने सहमति भएको छ।
वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव डा. नारायण प्रसाद रेग्मीले गरेका थिए। भुटानका तर्फबाट भुटानको आर्थिक मामिला मन्त्रालयका महामहिम महानिर्देशक सोनाम तेन्जिनले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
वार्तामा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाली राजदुतावास, नयाँ दिल्ली, भारत तथा भन्सार विभागका साथै व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।