चितवन– नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।
एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए। 'यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ। मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन्। उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन्', उनले भने।
एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनले बताए। आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उनको गुनासो छ। विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन्। कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिए।
कुरिलो व्यवसायबाट मात्रै वार्षिक २० लाख रूपैयाँ आम्दानी गर्ने गरेको उनको भनाइ छ। उनले वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेका छन्।
भरतपुर महानगरमा व्यावसायिकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उनले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।