काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले भेटघाट गरेका छन्।
एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए।
यस्तै अध्यक्ष नेपालसँगै पार्टीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए। उक्त भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको छ।
‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप गृहमन्त्रीज्यूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको हो। कुराकानी सकारात्मक भएको छ,’ गृहसचिव पाण्डेले भने।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ। त्यसकै लागि गृहमन्त्री खाणले सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेटेका हुन्।
गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्दै आएका छन्। उनले यसअघि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयकका विषयमा भेटेरै छलफल गरेका छन्।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ।
नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।