काठमाडौं-माइतिघर मण्डलामा पट्यारलाग्दो घाम छ। टाउकोमा सेतो गम्छा बाँधेका छन्। दारी सेताम्मे छन्। हातमा दुध चिया र जेरी छ। प्रचण्ड गर्मीलाई चुनौती दिन बकाइनका रुख नजिक भुइँमा बसेका छन्। उनी रामशुभाग मुसहर (६३) हुन्।
उसो त तराईको रापबाट आएका रामशुभागलाई राजधानीको तातो उस्तो धेरै छैन। बरु साहुकारको मिटरब्याजले भत्भती पोलेको छ।
रामशुभागको घर नवलपरासी पश्चिमको सुस्ता–५, रतनगंजमा पर्छ। उनका चार छोरा र एक छोरी छन्। सबैको विवाह भइसकेको छ। जेठा छोरा रामनाथ, माइला रामनन्द, साइँला राजकिशोर र कान्छा छोरा रामजीवन हुन्। रामजीवन पनि धर्ना दिन बाबुसँगै काठमाडौं आएका छन्।
अहिले रामशुभागको परिवारमा चार छोराबुहारी र नातीनातिना गरी २० जनाको ठूलो परिवार छ। तर, यो परिवार भूमिहीन बनेको छ।
यति, ठूलो परिवारको बाँच्ने आधार मजदुरी मात्र भएको उनले बताएका छन्। उनको जग्गाजमिन सबै साहुले कब्जा गरिसकेको छ। अब एउटा घडेरी मात्र बाँकी छ। तीन कट्ठा जमिनमा घर बनाएका छन्। खेतीपाती लगाउने जमिन भने छैन। श्रीमती सुरसति मुसहर अरुकोमा गएर काम गर्छिन्। उनले कुनै पनि सन्तानलाई विद्यालयको आँगन टेकाउन सकेनन्।
जेठो छोरा रामनाथले मलेसिया जान जगदीश बानियाँसँग १ लाख ५० हजार कर्जा लिएका थिए। छोरा विदेश गएपछि परिवारको आर्थिक संकट टर्ला भन्ने आशा थियो। तर, रामनाथको कमाइ राम्रो भएन। उनी डेढ वर्ष बसेर स्वदेश फर्किए। उनी फर्किएको पनि चार वर्ष भइसकेको छ।
यता साहुले १ लाख ५० हजार ऋणलाई ३ लाखको तमसुक बनायो। साहुकार जगदीश बानियाँको नियम नै ऋण दिएभन्दा दोब्बर तमसुक बनाउने थियो। रामशुभागले पनि लिँदै नलिएको थप डेढ लाखमा हस्ताक्षर गरे।
बैंकमा सरकारी कागजात, नीति नियमको झन्झटबाट उम्कन साहुले सजिलै दिने ऋण गाउँलेहरूले लिने गरेका थिए। गाउँका हजारौँले ऋण लिएका छन्। तर, ५०० जनाको भने आफ्नोजस्तै घरबास नै गुम्ने अवस्था भएको रामशुभाग बताउँछन्। ऋण दिने साहुकारमा जगदीशसहित सुनिल बानियाँ, सुरेश बानियाँ र सुजित बानियाँ छन्।
छोराको कमाइ राम्रो नभएपछि साहुले उनी जमिन बेच्दै ऋण तिर्न थाले। उनले पहिलोपटक चार लाख र दोस्रो पटक पाँच लाख गरेर जम्मा नौ लाख रुपैयाँ तिरिसकेका छन्। उनले तीन कट्ठा जग्गा धितोसमेत राखिसकेका थिए। साहुले ढिला कर्जा चुक्ता गरेको भन्दै मानसिक तनाव दिएर धितोमा राखेको जग्गा पनि लिलाम गरिदियो। पछि धितोमा राखेको तिन कटठा लिलाम गरिदियो। त्यो जग्गा श्रीमतीको नाममा थियो।
ऋण लिएको सात वर्षमा उनको सबै सम्पत्ति गुमिसकेको छ। तीन छोरा मलेसिया र एक जना कतार गएर फर्केका छन्। तर, अहिले साहुले घर न घाटको बनाएका छन्।
कान्छो छोरा कतार गएर १५ दिनमा फर्किए। २० जनाको परिवार पाल्न सकस भएको बेला उनलाई साहुको ऋणले पोल्न छाडेको छैन। डेढ लाख ऋण लिएका उनले नौ लाख तिरिसकेका छन् भने तीन कट्ठा जग्गा पनि साहुले लिलाम गरेको छ। तर, अझै नौ लाख तिर्न बाँकी भएको भन्दै साहुकार बानियाँले मानसिक तनाव दिएपछि उनी अन्य पीडितसँगै धर्ना बस्न काठमाडौं आएका हुन्।
आफूले निकालेको कर्जाका कारण आफ्नो तीन पुस्ताले दुःख पाएको रामशुभाग गुनासो गर्छन्। उनी भन्छन्, ‘जेठो नाति १२ कक्षामा पढ्छ, हजुरबा हामी छौँ नि भनेर सान्त्वना दिन्छ।’ यति भनेर उनी भक्कानिए।
रामशुभागलाई सम्हालिन निकै बेर लाग्यो। अनि फेरि बोल्न थाले, ‘मेरो कारणले मेरा छोरा–नातिले सम्म दुःख पाए।। नातिनातिना सबै विद्यालय जान्छन्। जग्गाजमिन छैन। बादल छेक्ने एक सानो झुपडी छ। अब त्यो पनि कहिले जाने हो टुंगो छैन।’
गाउँका धेरै जना ठगिएपछि न्यायका लागि सामूहिक प्रयत्न थाले। रामसुरत गुप्ताको अध्यक्षतामा मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति बनाए। सहसचिव उनै रामशुभाग छन्। समितिले जिल्ला प्रहरी कार्यालय नवलपरासी, जिल्ला प्रशासन कार्यालय, मानव अधिकार आयोग र सम्पति शुद्धिकरण विभागमा निवेदन दिएको छ। तर, न्याय पाउने आशा मर्दै गयो। अनि उनीहरू माइतिघर मण्डला आइपुगे।
तमसुक फिर्ता गरिनुपर्ने रामशुभागको माग छ। बन्धकीमा रहेको जग्गा फुकुवा हुनुपर्ने, चर्को मिटरब्याजबाट असुलेको पैसा फिर्ता गर्नुपर्ने उनीहरूले माग राखेका छन्। तर, माग सरकारले सुन्छ सुन्दैन भन्ने पत्तो छैन।
काठमाडौंमा धर्ना बस्न थालेपछि साहुकार बाँनियाका दाजुभाइले तारन्तर फोन गर्ने गरेका छन्। उनीहरुले आन्दोलन छाडेर गाउँ आए समस्या समाधान गरिदिने आश्वासन दिन थालेका छन्। ‘पहिला पनि यस्तै भन्दै ठगे। अहिले पनि ढाँट कुरा गर्दैछन्,’ रामशुभाग भन्छन्।
उनीहरू धर्ना बसेको चार दिन भैसकेको छ। उताबाट ७० जनाको समूहमा मिसिएर रामशुभाग काठमाडौं आएका हुन्। सबैजनाले पैसा उठाएर ७० हजार गाडीभाडा तिरे। अहिले गौशालाको बसपार्कमा बस्दै आएका छन्।
धर्नामा भने १४ जना छन्। घरबाट ल्याएको सामल सकिइसकेको छ। होटेलमा बस्ने पैसा छैन। आइतबार बिहानदेखि खाना खान बन्द भएको उनले दुखेसो पोखे। बसपार्कबाट माइतिघर आएर उनले बल्ल चिया पिए। ‘बरु भोकै मर्छौँ, तर साहुको तनावबाट मुक्त भएर मात्र जान्छौँ,’ उनले दृढता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।