काठमाडौं– आगामी ६ महिनाभित्र संघ र प्रदेश सभाको निर्वाचन हुने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। आइतबार काठमाडौंमा सम्पादकहरूसँग भएको छलफलमा अध्यक्ष नेपालले मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको जानकारी दिएका हुन्।
उनले सत्ता साझेदारी गरिरहेका दलहरूको गठबन्धन आगामी निर्वाचनसम्मै जाने दावी गरे। उनले गठबन्धन जोगाउँदै चुनावमा जुट्ने तयारी भइरहेको पनि बताए।
‘मंसिरलाई आधार मानेर चुनाव गर्ने तयारी भइरहेको छ। अहिलेदेखि चुनावको तयारी गर्नुपर्नेछ। संघ र प्रदेश सभा दुवै चुनावसम्मै गठबन्धन कायम रहन्छ’, उनले भने।
उनले अब गठबन्धनभित्र चुनावमा सिटबारे छलफल गर्न बाँकी रहेको बताएका छन्। आइतबार बिहानै गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन्।
स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरी सुधार्दै सत्ता गठबन्धन अघि बढाउने विषयमा छलफल भएको नेता नेपालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।